जेठ ९, चितवन चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा सोमबार गैंडाका सयौं खागलगायत आखेटोपहार जलाइँदै । चितवन : विश्व सम्पदासूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा सोमबार दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाका साढे तीन सयभन्दा बढी खाग जलाएर नष्ट गरिएको छ । गत बिहीबार (जेठ ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले मरिसकेका वन्यजन्तुको अंग (आखेटोपहार) नष्ट गर्ने निर्णय गरेअनुसार गैंडाको खाग, छाला, बाघको छाला, हड्डीलगायत आखेटोपहार जलाएर नष्ट गरिएको हो ।कसरास्थित श्रीजंग गणको खेलमैदानमा १५ मिटर लामो, पाँच मिटर चौडा र एक मिटर अग्लो भट्टीमा आखेटोपहार जम्मा गरी दाउरा र कोइला बालेर नष्ट गरिएको छ । आगो लगाएर नष्ट गरिएका आखेटोपहारमा गैंडाको खाग तीन सय ५७ वटा, बाघको छाला ६७ थान, चितुवाको छाला चार सय १८ थान, ध्वाँसेचितुवाको छाला दुई थान, हिउँचितुवाको छाला एक थान, कस्तुरीको बिना ३४ वटा, हाब्रेको छाला ४७ थान, भालुको पित्त १५ वटा, हात्तीको पुच्छरका रौं तीन सय ५४ वटा, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोकार जरायोका सिङ छन् ।देशभरबाट संकलन भएकामध्ये चितवनको टिकौलीमा रहेको सशस्त्र वनरक्षक तालिम केन्द्रमा भण्डारण गरिएका एक हजार सात सय ३९ वटा र चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा भण्डारण गरिएका चार हजार १२ वटा आखेटोपहार जलाएर नष्ट गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो । यसअघि २०५४ साल चैतमा आखेटोपहार जलाएर नष्ट गरिएको थियो ।मृत वन्यजन्तुका अंग मूल्यहीन हुन् र यिनको महत्व यिनीहरू जीवित छँदा मात्र हुन्छ भन्ने सन्देश दिन आखेटोपहार जलाउने निर्णय सरकारले गरेको हो ।प्राकृतिक अवस्थामा कालगतिले मरेका र चोरीसिकारबाट मारिएका दुर्लभ वन्यजन्तुको आखेटोपहार टिकौली र कसरामा भण्डारण गरी राखिएको थियो । वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्न व्यक्तिबाट हुने ओसारपसारका क्रममा पक्राउ परेका व्यक्तिबाट जफत आखेटोपहारसमेत मुद्दाको किनारा लागेपछि त्यहाँ राखिएको थियो । निकुञ्ज तथा संरक्षण क्षेत्रमा भेटिएको आखेटोपहार कसरामा र वन क्षेत्रमा भेटिएको आखेटोपहार टिकौलीमा भण्डारण गरिँदै आएको थियो ।देशभरबाट २० वर्षयता जम्मा भएका आखेटोपहारमध्ये केही भने अध्ययन, अनुसन्धान र प्रदर्शनीका लागि कसरामा सुरक्षित राखिएको छ । यसरी सुरक्षित राखिएका आखेटोपहारमा गैंडाको खाग १० वटा, बाघको छाला पाँच थान, कस्तुरीको बिना चारवटा, हाब्रेको छाला दुई थान, चितुवाको छाला एक थान, चिरुको ऊन एक पोका र हात्तीको दाह्रा ११ क्विन्टल छन् । हात्तीको दाह्रा नौ सय डिग्री सेन्टिग्रेड तापक्रममा धेरै घन्टासम्म पोलेपछि मात्र नष्ट हुने भएकाले अहिले नष्ट गर्न नसकिएको महानिर्देशक खड्काले बताउनुभयो ।संरक्षणका लागि आगो दुर्लभ वन्यजन्तुका विभिन्न अंग, हाडखोर र छालालाई आगोमा डढाएर नष्ट गर्नुको मुख्य उद्देश्य यस्ता सामग्री प्रयोगविहीन हुन् र यिनको कुनै मूल्य छैन भन्ने सन्देश दिनु रहेको वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य बताउनुहुन्छ । जैविक विविधता संरक्षण दिवस पारेर आखेटोपहार जलाउने कामको सुरुआत परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्नुभएको थियो । संरक्षणका लागि आगो लेखिएको स्ट्यान्डमा राखिएको मसाल सल्काएर मन्त्री महतले आखेटोपहारको चाङमा आगो लगाउनुभएको थियो । मन्त्री महतले जलाइएका आखेटोपहारको अन्तर्राष्ट्रिय बजार मूल्य अर्बौं रुपैयाँ भए पनि सरकारले यसलाई मूल्यहीन ठानेर जलाउने निर्णय गरेको बताउनुभयो । आखेटोपहार नष्ट गरेको अवलोकन गर्न संरक्षणमा संलग्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि कसरामा जम्मा भएका थिए ।वनमन्त्री शंकर भण्डारीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत एलिना बी टेप्लिजले बाघ र गैंडाको संरक्षणमा अमेरिकाले नेपालसँग सहकार्य गर्दै आएको बताउनुभयो । ‘आखेटोपहार नष्ट गरेर नेपालले वन्यजन्तुका अंगको सुन्दरता जीवित वन्यजन्तुको शरीरमा मात्र हुने सन्देश विश्वलाई दिएको छ’, उहाँले भन्नुभयो, ‘यो कार्यले वन्यजन्तुका अंग मूल्यहीन वस्तु हुन् भन्ने सन्देश पनि विश्वसामु पुगेको छ ।’ वन्यजन्तुको अवैध कारोबार विश्वव्यापी समस्या भएको र यसको रोकथामका लागि सीमा सुरक्षा बलियो बनाउनुपर्ने उहाँको सुझाव थियो ।
जलाएर नष्ट गरिएका आखेटोपहार : गैंडाको खाग तीन सय ५७,बाघको छाला ६७,चितुवाको छाला चार सय १८,ध्वाँसेचितुवाको छाला दुई,,हिउँचितुवाको छाला एक,कस्तुरीको बिना ३४,हाब्रेको छाला ४७,भालुको पित्त १५,हात्तीको पुच्छरको रौं तीन सय ५४,चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका