१७ जेठ, रौतहट । पटक-पटक परिवर्तन भएको दोश्रो चरणको निर्वाचनको मिति र गाँउपालिका तथा नगरपालिकाको बदलिदो सँरचनाले रौतहटमा चुनावी माहोल अझै तातिएको छैन । गाँउपालिकाको सीमाना कहाँ सम्म हुने र नगरपालिकाहरु कति वटा हुने भन्ने बारे उम्मेदवार र मतदाता दुवै अन्यौलमा छन् ।
केही दिन अघि सरकारले रौतहटमा थप ११ नगरपालिको घोषणा गरेपछि गाँउपालिकाको अध्यक्षमा मनोनयन दिने मनसाय बनाएका उम्मेदवारको क्षेत्र नै हरायो । तर सर्वोच्च अदालतले सरकारको सो निर्णय तत्कारल कार्यान्वयनमा रोक लगाए पछि अबको संरचना र गाँउ तथा नगरको सिमाना बारे अझै जनताहरु स्पष्ट भइसकेका छैनन् । १३ गाँउपालिका र ३ नगरपालिका भएको रौतहटमा केही स्थानीय तहहरु अझै थप्नपर्ने माग राजनितिक दलका प्रतिनिधिहरुको छ । सरकारले पनि एउटा ठोस निर्णय गरेर राजपासहित सबै दललाई समेटेर दोश्रो चरणको निर्वाचनको माहोल बनाउन जरुरी रहेको जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झाले बताए ।तराई मधेशमा निर्वाचनको मिति घोषणा गर्दासमेत सरकारको परिपक्वता नदेखिएको झा बताउछन् । केटाकेटीको कुरा जस्तो मिति घोषणा गर्ने अनी फेरि सार्ने, त्यसैगरी कहिले गाँउपालिका बनाउने कहिले नगरपालिका बनाउने गरेर सरकारले नै जनतालाई भ्रमित बनाएको अध्यक्ष झाको तर्क छ । रौतहटका जनता निर्वाचनका लागि उत्साहित रहे पनि राजनीतिक दलहरुले जनताको भावना बुझ्न नसकेको उनको आरोप छ । ‘हामीले जनसंख्याका आधरमा र पायक पर्ने गाविसहरुलाई एक ठाँउमा गाभेर केही स्थानीय तह थप्नुपर्छ भन्छौं ।’ राजपाका नेता अजय गुप्ताले भने, ‘स्थानीय संरचना थप्न भन्दा सबै ठाँउलाई नगरपालिका नै बनाउँ भनेको होइन ।’ नेता गुप्ताले थपे, ‘१६ वटा स्थानीय तह भएको रौतहटमा चारदेखि पाँच वटासम्म गाँउपालिका वा नगरपालिका थप्दा हुन्छ ।’ निर्वाचनको मिति नजिकिँदै जाँदा पनि आन्दोलनमै रहेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता भने पर्ख र हेरको स्थितिमा छन । मधेशी जनताको प्रश्न अझै यथावत नै रहेकोले र सरकारले सँविधान संशोधन लगायतका माग सम्बोधन नगरेकोले आफूहरु आन्दोलनमा जानु परेको नेता अजय गुप्ताको ठम्याई छ । यता निर्वाचनको मिति घोषणापछि संघीय समाजवादी फोरम नेपाल भने रौतहटमा आˆनो कार्यक्रम तीव्र बनाइरहेको छ । गाउँटोलमा सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई फोरमले गति दिइरहेको छ । आइतवार मात्रै फोरम अध्यक्ष उपेन्द्र यादवले रौतहटका एक दर्जन भन्दा बढी स्थानमा आˆनो कार्यक्रम सम्पन्न गरेका थिए । निर्वाचनमा भाग लिने घोषणा गरिसकेको फोरमले गौरका पूर्व मेयरलाई समेत पार्टी प्रवेश गराइसकेको छ । दुई पटक सम्म गौरका मेयर बनेका गौरीशंकर यादवलाई फोरमले यस पटक पार्टीका तर्फ बाट मेयरको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । आफूहरुले एउटा समितिनै निर्माण गरेर प्रारम्भीक चरणको सर्वेक्षण गरिरहेको तथा नगरपालिका र गाँउपालिकाहरुका उम्मेदवारको पनि चयनगर्ने काम सुरु भएको फोरमका केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए । समान विचारधारा भएका समूहसँग सहकार्य गर्न फोरम तयार रहेको उनले बताए । स्थानीय निर्वाचनमा राजपासँगको सहकार्यका लागि समेत फोरम तयार देखिएको छ । नेकपा एमालेले रौतहटका स्थानीय तहमा उम्मेदवारहरु छनौट गरेको छ भने तीन वटा तहमा विवादका कारण उम्मेदार छनौट हुन सकेको छैन । आइतवार र सोमवार बर्दिबासमा भएको प्रदेश कमिटीको बैठकले रौतहटको दुई वटा नगरपालिका र ११ वटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवार छनौट गरेको हो । विवाद देखिएको चन्ऽपुर नगरपालिका र बौधिमाइ तथा फतुवा विजयपुर गाउँपालिकाको प्रमुख र उपप्रमुख पदको निर्णय भने हुन सकेको छैन । एमालेले गौर नपामा प्रमुखमा शम्भु साह र उप्रमुखमा रेखा झा, गरुडा नपामा महम्मद कलिमुल्लाह, दुर्गा भगवती गाँउपालिकामा विरेन्द्रसाह तेली र तहिमा शेखिन, गढिमाई गाँउपालिकामा हरिनारायण यादव र गजाला साहिन, देवाही गोनाहीमा धर्मेन्द्र प्रसाद पटेल र सिकिलिया देवी यादव, फतुहा विजयपुरमा बुधाई खाँ पैठान र पुनम कुमारी चौधरी, बौधीमाईमा प्रदीपकुमार राय यादव र इन्दु मिश्र लाई तोकिएको छ । कटहरियाको प्रमुख र उपप्रमुखमा तालमेल हुन सकेको छैन, त्यसै गरी माधवनारायणमा प्रमुखमा तालमेल गर्न बाँकी रहेको र उप प्रमुखमा पुनम साह, मौलापुरमा गगनदेव साह, गुजरामाईमा रामेश्वर चौधरी र इदि्रश सिद्धिकी, राजपुरमा साह महमद तथा वृन्दावनमा विनोद प्रसाद कुर्मी र उपप्रमुखमा तालमेल गर्ने जनाइएको छ । यता काग्रेंसले भने अझैसम्म पनि उम्मेदवारको घोषणा गर्न सकेको छैन । पार्टीले स्थानीय तह निर्वाचनका लागि काम सुरु गरिसकेको र केही दिनमा नै गाँउपालिका र नगरपालिकामा उम्मेदावारहरुको सूचि घोषणा गरिने कांग्रेसले जनाएको छ ।