चितवन – भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको आरोपमा थुनामा रहेका दुई जना माओवादी कार्यकर्ता निर्दोष साबित भएपछि रिहा भएका छन् । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगमा समातिएका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई रिहा गरेको हो । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने शिवाकोटी माओबादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य हुन् । चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले मधु न्यौपाने र द्रोण सिवाकोटीलाई छोड्न आदेश दिएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार धनिप्रसाद चापागाईंले जानकारी दिएका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बखत मतगणनास्थलमा माओवादी र एमाले कार्यकर्ता बीच विवाद भएपछि मतपत्र च्यातिएको थियो । न्यौपाने र सिवाकोटीलाई मतपत्र च्यातिएको आरोपमा थुनामा राखेको थियो । उक्त घटनापछि एमाले र माओवादीबीच मतगणना सुचारु गर्ने कि पुन: मतदान गर्ने भन्ने विषयमा विवाद हुँदै आएको छ । एमालेले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अबरुद्द गरिरहेको छ ।