सुधीर शर्मा/बसन्त बस्नेत/ रौतहट/ जेष्ठ २५, २०७४- दोस्रो चरणको स्थानीय चुनावको उम्मेदवारी मनोनयन दर्ता समय आउन एक साता बाँकी छ, तर गौरका मेडिकल सञ्चालक भाइ अमरुल हकले नगरपालिकाको उपमेयरमा आफ्नो स्वतन्त्र दाबेदारी घोषणा गरिसके । इद रमजान मुबारकको शुभकामनासहित उनले निकालेको पम्प्लेटमा नमस्ते गरिरहेको तस्बिर सहरका कुनाकाप्चासम्म टाँसिएको भेटिन्छ । पोस्टरमा उनले आफूलाई ‘कर्मठ, समाजसेवी, विकासप्रेमी, युवा, इमानदार एवं हरपल आपके उमिद पर खडा उतरने वाला एक मात्र स्वतन्त्र उम्मेदवार’ का रूपमा उपमेयरको प्रत्याशी ठहराएका छन् । संघीय समाजवादी फोरमको मंगलबार राति सम्पन्न बैठकले नगरपालिका मेयरमा यसअघि दुईपल्ट मेयर जितिसकेका गौरीशंकर यादव, अनि विवादित पूर्वसांसद बबन सिंहकी पत्नी अंशु सिंहलाई उपमेयरको टिकट थमायो । अरू दलहरूमा उम्मेदवारीको तीव्र होड छ ।चिया पसलहरूमा हिजोअस्तिसम्म आन्दोलनको विषयमा गफ हुन्थ्यो, अहिले चुनावको कुरा सुनिन्छ,’ संघीय समाजवादी फोरमका स्थानीय नेता योगेन्द्र यादवले भने, ‘को–को उम्मेदवार उठ्ने, कसले टिकट नपाउने, पार्टी प्रवेश गर्ने र छाड्ने कुरा अहिले सामान्य भएका छन् । मनोनयन त भएको छैन, तर भित्रभित्रै सबैलाई चुनाव लागेको छ ।’ कान्तिपुर टिम बुधबार बिहान गौरका गल्लीहरू चहार्दै चिया अड्डाहरू पुग्दासम्म स्थानीयवासी पहिलो गिलास रित्याइसकेका थिए । किन हो– अक्सर यी भरिभराउ चिया पसलहरूमा पुरुषै–पुरुषहरूको हाजिरी हुन्छ, महिलाहरू गयल पर्छन् । उनीहरू देशदुनियाँको हाल बुझेर घर फर्किंदासम्म घरमा ‘आफसेआफ’ खाना पाकिसकेको हुन्छ ।
रौतहट सदरमुकाम गौरको राइस मिल्स एरिया अघिल्तिरको चिया पसलमा चुनावी गफ गर्दै स्थानीय । यिनै चिया पसलमध्ये एउटाको माहोल बढतै राजनीतिक छ । सधैंझैं त्यहाँको चिया सत्र हाँकिरहेका छन्, राष्ट्रिय जनता पार्टी महासचिव अजय गुप्ताले । पत्रकारहरू पुगेको छनक पाउनुअघिसम्म उनी स्थानीय तहमा उम्मेदवारीको दौडलाई पार्टी केन्द्रको ‘बहिष्कार घोषणा’ ले अन्योलमा पारिदिएको अनुभूति साट्दै थिए । अनि चुनावमा राजपा उठेमा कांग्रेस, एमाले, माओवादी, फोरमको वरीयता के होला भन्ने ‘मौखिक तथ्यांक’ तिनै दलका नेता–कार्यकर्ता अघिल्तिर सुनाउँदै थिए । जनता आउने दिनका लागि सोच्छन्, नेतृत्व बितेको चुनावको तथ्यांक केलाउँछ । हामीलाई देख्नेबित्तिकै उनी यसै अनौपचारिक बनिदिए, ‘चुनावविरोधी होइनौं हामी, म त चुनाव लडेरै यहाँ मेयर भइसकेको नेता हो । तर पहिले माग सम्बोधन हुनुपर्यो नि ।’राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला अरू सहरमा नगर चुनाव बहिष्कार हुँदै गर्दा गौरमा भने ‘ऐतिहासिक ७४ प्रतिशत मतदान’ भएको हुनाले गणतन्त्रको चुनाव त झनै धुमधाम हुने कतिपय स्थानीयको आकलन छ । त्यसै बेलाका ‘निर्वाचित मेयर’ गुप्ताको अहिलेको हेराइचाहिँ फरक रहेछ । दोस्रो संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालसँग ३ सय मतान्तरले दोस्रो भएका गुप्ता यसपल्ट भने चुनाव बहिष्कार गरिछाड्ने जिकिरमा थिए ।चिया–चर्चामा सहभागी कांग्रेस र फोरम नेताहरूलाई उनले चुनाव किन बिथोल्नुपर्छ भन्नेबारे आफ्ना अडानहरू सुनाए । कांग्रेस नेता चिरञ्जीवी सिंहले भने आफ्नो दल सबैको अभिभावक भएकाले सबैलाई मिलाएर चुनावमा जाने बताए । ‘हामी मधेसको माग सम्बोधन गर्न छुटेको छ भनिरहेका छौं, यो चुनावले मुद्दा स्थापित गर्ने मौका प्रदान गर्छ,’ सिंहले भने, ‘यो मौका सबैले उपयोग गरेर आफूलाई सबै स्थानीय तहमा स्थापित गर्ने प्रयास गर्नुपर्छ ।’ स्थानीय क्षेत्रबाट उठेर सिंहदरबार हाँकिसकेका नेता माधव नेपाल पाएर पनि उपेक्षाको अनुभूति बोक्ने गौरवासीको कमी छैन । उनीहरू नेता नेपालले एमाले अध्यक्ष केपी ओलीसँग ‘को बढी राष्ट्रवादी देखिने’ प्रतिस्पर्धामा लागेर मधेसलाई ठीक ढंगले बुझ्ने समझ गुमाएको दोष आरोपित गर्छन् । कुनै बेला पार्टी पंक्तिमा अलोकप्रिय देखिए पनि राष्ट्रिय राजनीतिमा सन्तुलित भूमिकाका लागि प्रशंसित नेता अहिले ‘बहकाउमा परेको’ तिनको गुनासो छ । ‘बरु प्रचण्ड र गगन थापाको भूमिका ठीकै देखियो, प्रचण्डले मधेसका मुद्दा बुझ्न र सम्बोधन गर्न प्रयास गरे,’ स्थानीय हृदयनारायण यादवले भने, ‘स्वास्थ्यमन्त्री भएपछि यहाँ आएका थापाले जनतासँग आफैं संवाद गरे, तिनको सोच राम्रो देखियो ।’ स्थानीयले राजनीतिक मुद्दाहरूको एउटा पक्षमा उभिएर भडाउनुको साटो जनताका असन्तुष्टि बुझ्न प्रयास गर्नुपर्ने भन्दै नेतृत्वलाई झक्झक्याए ।राइस मिलनेर पुग्दा पुराना घरहरूका उडदै गएका धमिला छविहरू आँखाअगाडि आउँछन् । १० वर्षअघि पहिलो मधेस विद्रोहका बेला यो ऐतिहासिक जिल्लाको छवि पनि केही धमिलिएको थियो । शान्ति प्रक्रियामा भर्खरै आएको माओवादीको जोस, अनि मधेस आन्दोलनको तापमा रहेका मधेसवादी कार्यकर्ताबीच कसले राइस मिल मैदानको कार्यक्रमस्थल ओगट्ने भन्ने प्रतिष्ठाको लडाइँ २९ जनाको नरसम्हारमा बदलियो । तर यो गौरको सिंगो चित्र होइन । २००७ सालको सशस्त्र क्रान्तिको शंखनाद कांग्रेसले यसै सहरनजिकै नेपाल–भारत सीमापारि बैरगनियाबाट गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाकालदेखि रौतहटमा सक्रिय छ । २०१५ सालको पहिलो चुनावमा नेकपा देशभरि केबल ४ सिटमा विजयी हुँदा यो रौतहटबाटै दुईजना (शेख फर्मान र हरदयाल महतो) ले जितेका थिए । अनि यहींबाट पटक–पटक किसान विद्रोहहरू भएका छन् । गौरसँग बितेर गएका उज्याला–अँध्यारा दुवैखाले दिनहरू छन् । सडक नामका खाल्डाखुल्डीहरू, अव्यवस्थित बसोबास अनि सीमानजिकै भारतीय बजारको दबदबाका कारण गौरको मुहार पूरै ठीकठाक छैन । तर जसरी पनि अगाडिको बाटोमा पुगिछाड्ने स्थानीयवासीको अठोट देखिन्छ । मधेस आन्दोलन, राज्यको व्यवहार अनि राजनीतिक अनिर्णयबीच आउँदै गरेको स्थानीय चुनाव उपयोग गरेर जानुपर्छ भन्ने मत यहाँको प्रतिनिधि स्वर हो । नेताहरू त आफ्नो सुविधाअनुसार राजनीतिक ‘कार्ड’ खेलिरहन्छन् । ‘हेर्नुस्, संघर्ष भन्ने कुरा एकदिनको होइन, लामै चल्छ, राज्यको प्रवृत्ति हेर्दा हामीले आजै सिंहदरबारमा हिस्सा पाउँदैनौं,’ फोरम नेता योगेन्द्र यादवले राजनीतिक लाइन दिए, ‘तर यो चुनावमा भाग लिएनौं भने सिंहदरबारले गाउँसम्म छाडेका अधिकारसमेत गुम्छ । त्यसैले चुनावको रणनीतिक उपयोग फोरमले गर्छ ।’ आक्रमण नै प्रतिरक्षाको सर्वोत्तम शैली हो भन्छन् । चुनावको माहोल आफूतिर खिच्ने गरी यादवले टुच्च दिइहाले, ‘कस्ता हुन् राजपाका मित्रहरू π काठमाडौंमा प्रधानमन्त्री चुन्ने चुनावमा आफूचाहिं दुई वर्षमा तीनपल्ट भोट हाल्न गइसके । स्थानीय सरकार चुन्ने बेलाचाहिँ जनताको अधिकार कटौती गर्न आउँछन् ।’
तस्बिर: अंगद ढकाल