०५ असार / लहानका व्यापारी बैजनाथ चौधरी मधेस बन्दको असरबारे आइतबार साथीहरूसँग चर्चा गर्दै थिए। उनको प्रस्तुतिमा आक्रोशसँगै निराशा प्रस्ट झल्किन्थ्यो। कारण थियो, बन्दले स्थानीय बजारमा पारेको नकारात्मक असर। मधेसका नाममा पटकपटक हुने बन्दको सबैभन्दा बढी मार मधेसकै व्यापारी, उद्योगी र आममानिसले भोग्नुपरेको चौधरीको भनाइ छ । उनले पीडा पोखे, ‘जहिले यसपालिको बन्दलार्ई ‘वारपारको संघर्ष’ भन्दै मधेसी जनतालाई यहाँका नेताले झुक्याउँदै आए।’ पटकपटक यस्तै प्रवृत्ति देखाएका कारण मधेसवादी नेतामाथि विश्वास लाग्नै छाडिसकेको टिप्पणी अन्य सहभागीले गरे ।पहिलो मधेस आन्दोलन (२०६३) मा करिब एक महिना बन्द गरेर आन्दोलनमा साथ दिएको सम्झँदै उनले भने, ‘त्यस बेला व्यापारीलाई घरबहाल कर र भाडा मिनाहा गराउने आश्वासन दिएका नेता पछि हाम्रो हाल बुझ्न पनि आएनन् ।’ पछिल्लोपटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको ६ महिना लामो तेस्रो मधेस आन्दोलनले मधेसका धेरैलाई आर्थिक रूपले बिल्लिबाठ बनाइदियो । तर, कतिपयको भने आर्थिक कायापलट भयो । बन्दको आडमा कालोबजारी र तस्करी गर्नेहरू रातारात लखपति बने भने कतिपय व्यापारी ऋणको भारले थलिएर व्यापारबाटै पलायन भए ।बन्दको मारले थलिएको मधेस उठेर तङ्ग्रिन थालेको मधेसमा पुनः बन्दको सिलसिला सुरु भएको छ । मधेसका गाउँसहरमा गाडी बन्द गर्ने तर राजमार्गमा बिनारोकटोक गाडी चल्ने ? अरू सहरको बजार खुल्ने तर मधेसको बजार बन्द हुने ? अर्को ठाउँको स्कुल खुल्ने मधेसको बन्द गर्ने ? मनभित्र दबिएर रहेका यी प्रश्न अहिले आममधेसीबीच बहसको विषय बनेको छ । उनीहरू अब मधेसको नाममा मधेस मात्र बन्द हुन नहुने तर्क गर्न थालेका छन् । राजनीतिक संघर्षका कारण मधेसको आर्थिक, सामाजिक र शैक्षिक पक्ष धाराशयी बनाउन नहुने तर्क गर्ने प्रशस्त भेटिन्छन्, यहाँ । पछिल्लो पटक राष्ट्रिय जनता पार्टी (राजपा) ले पाँच दिनदेखि मधेस बन्द गराउँदै आएको छ । बन्दका कारण स्थानीय रुटमा भाडाका सवारीसाधन चल्न सकेका छैनन् । पसल, बजार, स्कुल, कलेज, उद्योग आंशिक मात्र सञ्चालनमा छन् ।बन्दबाट आजित स्थानीय व्यापारीले आइतबारदेखि बजार र पसल खोल्न थालेका छन् । स्कुल पनि बिस्तारै सञ्चालनमा आउन थालेका छन् । राजमार्गमा लामो र मध्यम दूरीका सवारीसाधन चल्न थालेका छन् ।सिरहा मिर्चैयाका व्यापारी अशोक साह भन्छन्— ‘छ महिना लामो बन्दले थलिएका व्यापारीहरू उठ्न नपाउँदै पुनः सुरु भएको बन्दले थप मारमा पारेको छ ।’गोलबजारका व्यापारी अजित जयसवालका अनुसार अहिले व्यापारको ‘पिक सिजन’ मै बन्द सुरु भएको छ। उनले भने, ‘बन्दमा व्यापार हुँदैन । व्यापार नभए पनि घरभाडा, बैंक ब्याज, स्टाफ खर्च रोकिन्न । हाम्रो पीडा कसले बुझिदिने ?’आन्दोलनका कारण जीवन धान्न सकस भएको भन्दै स्थानीय यातायात मजदुर आन्दोलनले चाँडो निकास पाउनुपर्ने बताउँछन् । ‘बन्दमा बढी मार पर्ने भनेको दिनभर मजदुरी गरेर पेट पाल्ने वर्गलाई हो,’ ठेला मजदुर धीरज पासवानले भने, पेट भर्न त मिहनत नै गर्नुपर्छ । बन्द र आन्दोलनले हामीजस्ता गरिबको काम खोसिन्छ, सर ।’ पटकपटकको आन्दोलनलाई राज्यबाट उचित सम्बोधन हुन नसक्दा मधेसी समाजमा निराशा बढेको छ । सरकार, प्रमुख दल र राजपाको ‘जुँगाको लडाइँ’ का कारण सर्वसाधारणले दुःख पाइरहेका छन्। बन्दले किसान, विद्यार्थी, विभिन्न पेसाकर्मीलगायत सबै पीडित छन्।