०५ असार,काठमाडौं-सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध अभियोगमा मतदान नभएसम्म प्रहरी हिरासत राखेको थियो। आइतबार दोस्रो चरणको निर्वाचन मनोनयनका क्रममा अवरोध पु¥याउने, तोडफोड, आगजनीलगायतका गतिविधिमा संलग्न रहेको अभियोगमा प्रदेश नम्बर १, ४ र ५ का जिल्लाबाट चार सयभन्दा बढी पक्राउ परेका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउँछ । सोही ऐनले दिएको अधिकार प्रयोग गरी उनीहरूलाई १४ गतेपछि हिरासतमुक्त गर्ने सरकारको रणनीति रहेको स्रोतले बतायो । ‘चुनाव प्रचार र मतदानको दिनसमेत अवरोध पु¥याउन सक्ने भएकाले यसबीचमा जोजति पक्राउ पर्छन्, उनीहरू हिरासतमै हुन्छन्,’ गृह मन्त्रालय उच्च स्रोतले नागरिकसँग भन्यो, ‘मतदानपछि अभियोगको प्रकृतिअनुसार जिल्ला प्रशासन कार्यालय या अदालतमा बुझाउन निर्देशन गइसकेको छ ।’
गृह प्रवक्ता दीपक काफ्ले निर्वाचनविरोधी शक्तिलाई प्रचलित कानुनअनुसार निस्तेज पार्न गृहले निर्देशन दिइसकेको र सोहीअनुसार स्थानीय प्रशासले काम गर्ने बताए । उनले निर्वाचनविरोधी गतिविधि गर्ने केही पक्राउ परेको जानकारी दिए ।‘जो जे आरोपमा पक्राउ परेको हो त्यसबारे सम्बन्धित जिल्लाको स्थानीय प्रशासनले निर्णय गर्छ,’ काफ्लेले भने, ‘जसले जुन कानुन उल्लंघन गरेको देखिन्छ त्यहीअनुसार कारबाही हुन्छ ।’नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले तोडफोड, आगजनीलगायतका गम्भीर प्रकृतिका गतिविधिमा संलग्न देखिएकामाथि कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।‘सामान्य प्रदर्शनमा सहभागी मुक्त हुन्छन्, गम्भीर गतिविधिमा संलग्न देखिएकाहरू अनुसन्धानको दायरामा आउँछन्,’ उनले भने ।मनोनयन सोचेभन्दा शान्तिपूर्णस्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आइतबार तीन प्रदेशमा मनोनयन सकिएपछि साँझ गृह मन्त्रालयमा सुरक्षा निकायका प्रतिनिधिसहित बसेको बैठकले मनोनयनको दिन आँकलनभन्दा बढी शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ ।मनोनयनको दिन बाजुराको डोगडीमा कांग्रेस र एमालेबीच झडप हुँदा ढुंगा लागेर हंस राउतको मृत्यु भएको थियो । बाँकेमा एमाले र माओवादी झडपमा तीन जना घाइते भए । ताप्लेजुङको फताङलुङका कांग्रेसका वडा सदस्य उम्मेदवार मनबहादुर पतङवाङ अपहरणमा परेर मुक्त भए । कपिलवस्तुको गजेहडा हुलाकी सडकमा बम विस्फोटमा १० जना घाइते भए पनि सुरक्षा अवस्था सोचेभन्दा प्रभावकारी भएको गृहको विश्लेषण छ ।‘केही छिटफुट घटना भए पनि मनोनयन उत्साहपूर्ण रूपमै सम्पन्न भयो, सबै तहमा उम्मेदवारी दर्ता भयो,’ गृह प्रवक्ता काफ्लेले भने, ‘सुरक्षा अवस्था बलियो र प्रभावकारी छ ।’राजपा र नेकपाले मनोनयन भाँड्ने रणनीति लिए पनि जनसमर्थन पाउन नसक्दा उनीहरूको प्रयास प्रभावहीन भएको गृहले निष्कर्ष निकालेको छ । राजपाभित्रको केही समूह र नेकपा समूहसमेत केही स्थानमा उम्मेदवार बनेकाले सुरक्षा सुधार हुने गृहको विश्लेषण छ ।‘केही हिंसात्मक घटना हुने आशंका थियो, तर निर्वाचनको विपक्षमा रहेका दलको कार्यक्रमलाई सर्वसाधारणले साथ नदिँदा उनीहरूको योजना प्रभावहीन भयो,’ सुरक्षा स्रोतले भन्यो, ‘विपक्षमा रहेको राजपाभित्रको केही समूहसमेत निर्वाचनमा सहभागी हुँदा सुरक्षा चुनौती घटेको छ।’
एक लाख ६३ हजार सुरक्षाकर्मी स्थानीय तह निर्वाचनमा दुई लाख २६ हजार सुरक्षा जनशक्ति खटाउने रणनीति बनाएको गृहले पहिलो चरणको निर्वाचनमा ९५ हजार सुरक्षा जनशक्ति खटाएको थियो । दोस्रो चरणको निर्वाचनमा नेपाली सेना, प्रहरी, सशस्त्र, म्यादी र राष्ट्रिय अनुसन्धान विभागका गरी एक लाख ६३ हजार सुरक्षा जनशक्ति परिचालन गरिएको गृह प्रवक्ता काफ्लेले जानकारी दिए ।