काठमाडौं/भाद्र ३१, २०७४-प्रदेश २ का जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनको तयारी पूरा भएको सम्बद्ध अधिकारीले जनाएका छन् । उनीहरूका अनुुसार मतदान केन्द्र र मतदानस्थलमा सुरक्षाव्यवस्था कडा तुल्याइएको छ । एउटा जिल्लामा ६ देखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् । पर्सामा नेपाल, सशस्त्र प्रहरी र नेपाली सेना मतदान केन्द्रको सुरक्षामा परिचालन गरिसकिएको छ । चुनावलाई ध्यानमा राखी प्रदेशको एक मात्र महानगर वीरगन्ज तथा जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार शुक्रबार राति १२ बजेदेखि ७२ घण्टाका लागि भारतसँग जोडिएका सबै सीमानाका सिल गरिएका छन् । ‘यसका लागि भारतीय काउन्टर पार्ट्ससँग पनि कुरा भइरहेको छ,’ उनले भने, ‘सीमामा कुन स्तरसम्मको कडाइ गर्नेबारे छलफल भइरहेको छ ।’ यसबाहेक निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी भइसकेको उनले दाबी गरे ।‘सबै मतदानस्थलमा नेपाल र सशस्त्र प्रहरी तथा सेनासमेतको टोली पुगिसकेको छ,’ उनले भने, ‘स्ट्रयाकिङ टोली पनि आइसकेको छ ।’ महानगर तथा ग्रामीण भेगका ‘चेक प्वाइन्ट’ पनि चुस्त दुरुस्त बनाइएको गिरीको भनाइ छ । जिल्ला सुरक्षा समितिले मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील समूहमा वर्गीकरण गरेको छ । १५ सामान्य, ७९ संवेदनशील र ७३ अति संवेदनशील छन् । भारतसँग जोडिएका तथा विगतमा अप्रिय घटना भइसकेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएका छन् । वीरगन्ज महानगरकै कतिपय केन्द्र अतिसंंवेदनशील रहेको उनले बताए । सर्लाहीमा संवेदनशील बढी जिल्लाका ३ सय १८ मतदानस्थलमध्ये २६ मात्र सामान्य छन् । १ सय ४१ लाई अति संवेदनशील र १ सय ५१ लाई संवेदनशीलमा राखिएको छ । सीमा जोडिएका स्थानलाई पनि सुरक्षा समितिले अति र संवेदनशीलमा राखेको छ । पूर्व–पश्चिम राजमार्ग आसपास विप्लव समूहको सामान्य प्रभाव छ । निर्वाचन क्षेत्र नम्बर ६ का कतिपय केन्द्रमा संविधानसभाका दुवै चुनावमा धेरैले मतदान गर्न नपाएको गुनासो छ । ‘यसपटक मतदान अधिकारबाट कोही पनि वञ्चित नहुने आश्वासन पाएका छौं,’ बलराका एक मतदाताले भने, ‘लोकतन्त्रको पहिलो पटक सदुपयोग गर्न पाउने भनेर हामी हर्षित छौं ।’
प्रजिअ प्रदीपराज कँडेलले मतदान गर्न पाउने लोकतान्त्रिक हकबाट कोही पनि वञ्चित नहुने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए । केही दिनयता राजमार्ग आसपासका केही स्थानमा विस्फोटक सामग्री राख्नेजस्ता गतिविधि छिटपुट देखिएका छन् । बिहीबार साँझ नयाँरोडमा कांग्रेस कार्यकर्ताले प्रयोग गरेको जिपमा अज्ञात समूहले विस्फोटक पदार्थ राखेको थियो । यद्यपि कुनै क्षति हुन पाएन । अज्ञात समूहले निर्वाचन बिथोल्न, असफल पार्न र मतदाता तर्साउने उद्देश्यले यस्तो दुष्प्रयास गरेको सुरक्षा अधिकारीले बताए ।
गाउँगाउँमा सुरक्षाकर्मी रौतहटमा शुक्रबारदेखि मतदान केन्द्र र मतदानस्थलमा सुरक्षाकर्मी खटाइएका छन् । ती केन्द्रबाट कर्मचारीले शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेका छन् । अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल, सशस्त्र प्रहरी र सेना खटिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लाका विश्रामपुर, मौलापुर, गंैडाटार, राजपुरलगायत केही मतदान केन्द्र संवेदनशील र अति संवेदनशील भए पनि स्थानीय प्रशासनले तथ्यांक सार्वजनिक गरेको छैन । सुरक्षा संवेदनशीलता ध्यानमा राखी तथ्यांक सार्वजनिक नगरिएको एक सुरक्षाधिकारीले बताए । सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रजिअ उद्धवबहादुर थापाको भनाइ छ । ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए ।‘प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी खटाइसकेका छौं,’ उनले भने, ‘सुरक्षा व्यवस्था थप व्यवस्थित बनाउन सुरक्षा निकायका अधिकारी जुटेका छौं ।’ जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तहमा १८ जना प्रमुख तथा उपप्रमुख निर्वाचित हुनेछन् । त्यस्तै १ सय ५७ वटा वडामा वडाध्याक्ष, ६ सय २८ जना वडा सदस्य गरी जिल्लाभरिमा स्थानीय तहमा ८ सय २१ जना पदाधिकारी निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभरिमा २ सय ७७ मतदान स्थल र ४ सय ३४ मतदान केन्द्र तोकिएका छन । कुल मतदाता ३ लाख २१ हजार २८ जना छन् । निर्वाचन सुरक्षाका लागि नेपाल(भारत सीमामा आउजाउ रोकिएको छ । स्थानीय प्रशासनले भारतीय सुरक्षा अधिकारीसँग मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि सीमा बन्द गर्ने सहमति गरेको थियो । गौर, बंकुललगायत नाका बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ । कर्मचारी पठाउन अलमल सर्लाहीका सबैजसो मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन् । कर्मचारी व्यवस्थापन भने भरपर्दाे देखिएको छैन । कर्मचारी खटनपटनमा मुख्य निर्वाचन अधिकृत कार्यालयको काम त्रुटिपूर्ण रहेको गुनासो सुनिएको छ । मतदानस्थल पुगेर परिचयपत्र बाँड्नुपर्नेमा शुक्रबार अपराह्नसम्म पनि कर्मचारी सामग्री बुझ्नमै व्यस्त थिए । निर्वाचन तयारीबारे बुझ्न शुक्रबार काठमाडौंबाट आयुक्तसहित आयोगको टोली हेलिकप्टरमा मलंगवा आएको थियो । आयुक्तले तत्काल कर्मचारीलाई मतदान केन्द्र पठाउने वातावरण मिलाउन निर्देशन दिए । प्रजिअ प्रदीपराज कँडेलले कर्मचारीलाई निर्वाचन सामग्री दिएर कार्यक्षेत्र पठाउने तयारी भइरहेको बताए । जिल्लामा ३ सय १८ मतदान स्थल र ५ सय १ मतदान केन्द्र छन् । यहाँ ३ लाख ६६ हजार ६ सय ५ मतदाता छन् ।