नरेन्द्र साह,रौतहट, १५ मंसिर । रौतहटमा प्रहरी र रापजा नेपाल बीच झडप हुँदा पाँच जना घाइते भएका छन् । गएराति रौतहटको गरुडा नगरपालिका ५ महमदपुरमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको हो । बिगत समयको मधेश आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको क्रममा प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । झडपमा बालकसहित पाँचजना घाइते भएका हुन् । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए । त्यसपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । गाउँका चोक-चोकमा पुगेर पनि प्रहरीले टियर ग्यास प्रहार गरेको स्थानीयबासीको दावी छ । स्थानीयले ५० राउन्ड हवाइ फायर भएको दावी गरे पनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरी ले जनाएको छ ।स्थिति तनावग्रस्त भएपछि राति नै महमदपुर मा सशस्त्र प्रहरीको थप फोर्स झिकाइएको थियो । राजपाले मधेस आन्दोलनमा प्रहरी प्रशासनले गरेको दमनको भिडियो दृष्य देखाउँदै चुनाव प्रचार गर्दै आएको छ । त्यसलाई प्रशासनले रोक्न खोजिरहेको छ । यस अघि पिपरा रजवारा भन्ने ठाउँमा पनि प्रहरीले हस्तक्षेप गरेको थियो ।