दमक,मंसिर १८, २०७४-दैनिक ४/५ चुनावी सभालाई सम्बोधन गर्दै हिँडे पनि एमाले अध्यक्ष केपी ओली थकित देखिँदैनन् । उनले आफ्नो शारीरिक अवस्थामा कुनै असर पर्न दिएका छैनन् । तर, ओली मतदाता शिक्षाप्रति भने खुबै चिन्तित देखिन्छन् । उनलाई समानुपातिकतर्फको मतदानका क्रममा गठबन्धनलाई असर पर्छ कि भन्ने ठूलो पीर छ । यसैले होला, उनले सम्बोधन गर्ने प्राय: आमसभाहरूमा मतदाता शिक्षाबारे बोल्ने गरेका छन् । धेरै ठाउँमा उनले आफ्ना कार्यकर्ताहरूलाई खटिन निर्देशनसमेत दिएका छन् । विज्ञका अनुसार वाम गठबन्धनलाई समानुपातिकतर्फको मत बिग्रिने डर धेरै छ ।ओली मात्रै होइन, समानुपातिक मतदानतर्फ वाम गठबन्धन आबद्ध सबै दल चिन्तित देखिन्छन् । अन्यत्रभन्दा झापामा अझ बढी समस्या देखिने यहाँका नेतृत्वको बुझाइ छ । जिल्लामा एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धन छ । अन्यत्र, एमाले–माओवादी तथा कांग्रेस–राप्रपाबीच गठबन्धन छ । प्रतिनिधि र प्रदेशसभा चुनाव एकै दिन हुनेछ । दुवै सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी मतदान गर्नुपर्नेछ । गठबन्धनका कारण निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र फरक–फरक हुने व्यवस्था गरेको छ । प्रत्यक्षतर्फ पनि उम्मेदवार नभएका पार्टीको चुनाव चिह्न नराख्ने व्यवस्थासमेत गरिएको छ । वाम गठबन्धन आबद्ध दलहरूबीच प्रत्यक्षतर्फ साझा उम्मेदवारलाई तथा समानुपातिकतर्फ आ–आफ्ना पार्टीलाई मत खसाल्ने सहमति छ । तर, उक्त सहमति आम कार्यकर्तालाई थाहा छैन । ओलीले कार्यकर्ता तथा सर्वसाधारण मतदातालाई यसबारे शिक्षा दिन विशेष जोड दिंदै आएका छन् । यसतर्फ कांग्रेस भने ढुक्क देखिन्छ । जिल्लाका प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० क्षेत्रमा कांग्रेस एक्लै चुनाव लडै छ ।‘समानुपातिक भोट बिग्रिन नदिन हामीले आ आफ्ना कार्यकर्ताको टोलीनै खटाएका छौं,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरीले भने, ‘त्यसो गरिएन भने, यसपालि गठबन्धनलाई समानुपातिकतर्फ ठूलो घाटा हुने अवस्था छ ।’ उनले गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारलाई कुनै असर नपरे पनि समानुपातिकतर्फ भने मत बदर हुने अवस्था रहन सक्ने बताए । ‘गठबन्धन भएकाले आम मतदाताले हाम्रो उम्मेदवार को हुन् । कुन छापमा मत दिनुपर्छ भन्ने जानेका छन्’ उनले भने, ‘तर, समानुपातिकतर्फ त्यही अवस्था हुदैन । गठबन्धन हो भनेर सबै पार्टीलाई भोट दिने कि, आफू निकटलाई दिने भन्ने कुरा सिक्न जरुरी छ ।’राप्रपाका सहमहामन्त्री राम थापाले पनि गठबन्धन भएकोले समानुपातिकतर्फ मत बढ्ने आस रहेको बताए । तर, उनले मतदाता झुक्किए भने परिणाम उल्टो पनि आउन सक्ने आशंका जताए । ‘वाम गठबन्धनसँग तालमेल भए पनि हाम्रो उम्मेदवारी झापा ३ मा मात्रै हो,’ उनले भने, ‘समानुपातिकमा आआफ्नै चुनाव चिह्नमा भोट खसाल्ने हो । तर, मतदाताले फरक पार्ला कि भन्ने डर पनि छ । गठबन्धनबाट सहयोग पनि पुग्छ चिटिङ पनि हुने डर छ ।’ उनले यसतर्फ सचेत रहँदै कार्यकर्ताको टोली खटाएको बताए ।‘यसका लागि अहिले हामी ‘डोर टु डोर’ गइरहेका छौं । यति गरिएन भने यसपालि धेरै तलमाथि हुने अवस्था छ,’ उनले भने । कांग्रेस युवा नेता विश्वप्रकाश शर्माले आफ्नो पार्टीका लागि भने त्यस्तो कुनै डर नभएको बताए । उनले दुवै चुनावतर्फ सबै मतपत्रमा रूख चिह्न रहने भएकाले मतदातालाई कुनै समस्या नहुने बताए ।