
विजयपुर २५६ वैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिका क्षेत्रमा दशकौ देखि बसोबास गर्दै आएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाहरू आन्दोलित बनेका छन् ।
सागरनाथ वन परियोजनाले अतिक्रमित भनिएको जग्गा खाली गराउन सूचना जारी गरेपछि नगरका विभिन्न वडाबाट सयौँ महिला–पुरुष सडकमा उत्रिएका हुन् ।
हातहातमा तुल–ब्यानर बोकेका आन्दोलनकारीहरूले नगरपालिका अगाडि चर्का नाराबाजी गर्दै कोणसभा गरे । उनीहरूले “लालपुर्जा देऊ, डोजर होइन”, “गरीव माथिको दमन बन्द गर” जस्ता नारा लगाउँदै सरकार र स्थानीय प्रशासन विरुद्ध आक्रोश पोखे ।
कोणसभामा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र यादव, रास्वपाका नेता प्रदीप पटेल, लालबाबु पटेल, पूर्व उपमेयर कान्ती महतो लगायतले सम्बोधन गर्दै तीन दशक अघि देखि बसोबास गर्दै आएका गरीब तथा सुकुम्वासीलाई कुनै पनि बहानामा विस्थापित गर्न नहुने बताए ।
वक्ताहरूले चुनावमा जनताबाट मत लिएर सत्तामा पुगेका नेताहरू जनभावना विपरीत निर्णय गरे त्यसको प्रतिकार हुने चेतावनी दिए । “ओली सरकार विरुद्ध जस्तै जनआक्रोश फेरी बलियो बन्न सक्छ,” भन्दै उनीहरूले सुकुम्वासी माथि बल प्रयोग गरिए कडा आन्दोलन हुने चेतावनी दिए ।
कोणसभा पछि आन्दोलनकारीहरूले कार्यवाहक मेयर अम्बेया खातुनलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मेयरका श्रीमान् महमद सेराजले कानुनी दायरा भित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भूमिहीन तथा सुकुम्वासी समूहले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएको ज्ञापनपत्रमा वडा नं. १ देखि ११ सम्मका एलानी तथा सार्वजनिक जग्गामा दशकौ देखि बसोबास गर्दै आएका नागरिकलाई व्यवस्थापन नगरी डोजर चलाउने कार्य संविधन विपरीत भएको उल्लेख गरे । उनीहरूले नेपाल सरकारको भूमि समस्या समाधान आयोग मार्फत २०८० भदौं २९ मा आवेदन फाराम संकलन, अनलाइन इन्ट्री तथा अभिलेखीकरणको काम सम्पन्न गराइसकेकोमा अब नापजाँच प्रक्रिया अघि बढाएर लालपुर्जा वितरण गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा राज्यको दायित्व नागरिकलाई गाँस, बास र कपासको सुनिश्चितता गर्नु भएको उल्लेख गर्दै व्यवस्थापन बिना घरविहीन बनाउने प्रयास स्वीकार्य नहुने चेतावनी दिए । माग सम्बोधनमा ढिलाइ भए चरणबद्ध आन्दोलनमा उत्रिने र त्यसक्रममा हुने क्षतिको जिम्मेवारी नगरपालिका र सम्बन्धित निकायले लिनुपर्ने उनीहरुलेब बताए ।
आन्दोलनको केन्द्रमा रहेको सागरनाथ वन विकास परियोजना अन्तर्गतको फतुवा विजयपुर वडा नं. ११ स्थित करिब २०० हेक्टर वन क्षेत्र विगत तीन दशकयता क्रमशः अतिक्रमण हुँदै आएको स्थानीय बताउँछन् । एक समय हराभरा जंगल रहेको उक्त क्षेत्र माओवादी जनयुद्ध, मधेश आन्दोलन तथा विभिन्न सशस्त्र गतिविधिको प्रभावका कारण कमजोर सुरक्षा र राजनीतिक संरक्षण बीच फडानी हुँदै गएको आरोप छ ।
हाल उक्त क्षेत्रमा सयौ परिवारले घर निर्माण गरेर बसोबास गर्दै आएका छन् भने ठूलो भूभाग खेतीपातीमा प्रयोग भइरहेको छ । सहिद चौक बजार समेत सोही वन क्षेत्रभित्र विस्तार भएको स्थानीयको भनाइ छ । त्यहाँ दर्जनौ पक्की घर निर्माण भइसकेका छन् भने वनकै जग्गा प्रतिकठ्ठा १५ देखि २० लाख रुपैया सम्ममा किनबेच भइरहेको दाबी स्थानीयले गरे ।
यसैबीच सागरनाथ वन विकास परियोजना सर्लाहीले गत वैशाख १४ गते सूचना जारी गर्दै रौतहटको फतुवा विजयपुर–११ स्थित २०० हेक्टर तथा चन्द्रपुर–२ जुडिबेला क्षेत्रको ५२ हेक्टर वनजग्गा १५ दिनभित्र अतिक्रमणमुक्त गर्न सुचना जारी गरेको थियो । परियोजनाका निमित्त प्रमुख चन्द्रमोहन सिंहद्वारा हस्ताक्षरित सूचनामा अटेरी गरे बालीनाली तथा संरचना हटाइने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित नै हुनेछ।
