काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुले मधेशको मुद्दालाई नछोडेको दाबी गरेका छन् । उनले मधेशी मोर्चाको पनि औचित्य समाप्त नभएको बताएका छन् । संविधान संशोधनसहित मधेशको माग पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान लिदै आएका यादव एकाएक निर्वाचनमा सहभागी भएपछि व्यापक आलोचना खेप्नु परेको छ । मधेशको कुनै पनि माग पुरा नभएको र निर्वाचन हुन नदिने दाबी गर्दै आएका यादव निर्वाचनमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि यादवप्रति आक्रोस व्यक्त गरेका थिए । आफुमाथि लगाइएको आरोपको खण्डन र निर्वाचनमा सहभागी हुनुको कारण बारे जानकारी गराउन यादवले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै यादवले आफु प्रतिगमनलाई रोक्न निर्वाचनमा सहभागी भएको दाबी गरे । उनले आफु मधेशको मुद्दा नछोडेको र संविधान संशोधनको माग पनि नछोडेको दाबी गरे । यादवले भने,‘हामीले हिजो पनि मधेशको मुद्दा उठाएका थियौं, आज पनि उठाउँदै छौं र भोलि पनि उठाउने छौं ।’ यादवले मधेशी मोर्चा अथवा संघीय गठबन्धनको औचित्य समाप्त नभएको दाबी गर्दै राजपा नेपालका नेताहरुको आलोचनासमेत गरे । उनले मोर्चाको औचित्य समाप्त नभएको बताउँदै भने,‘जसले मोर्चाको औचित्य समाप्त भयो भन्छन्, त्यसकै औचित्य समाप्त हुनेछ ।’ यादवले राजपा नेपाल पनि निर्वाचनमा सहभागी हुन तयार रहेको बताउँदै पार्टी दर्ता र चुनाव चिन्ह नपाएकोले निर्वाचनमा सहभागी नभएको दाबी गरे ।