२३ वैशाख, उदयपुर । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार राई मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेका हुन् । स्थानीयवासी गोठालाले साँझपख गाईवस्तु जङ्गलबाट घर फर्काउने क्रममा राईलाई मृतावस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । दाहसंस्कार गर्न प्रहरीले मृतकका आफन्तलाई जिम्मा लगाएको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए । शवका छेउमा एउटा विषादी वस्तुको सिसी भेटिएको जनाइएको छ ।
शिक्षक राईले १५ दिन अघिदेखि नै घरमा अनौठो व्यवहार देखाउन थालेका थिए । छोराको विवाह सम्पन्न भएको भोलिपल्टदेखि नै राई घरबाट बेपत्ता भएका थिए ।