काठमाडौँ, जेठ ३ संसद्मा तेस्रो हैसियतमा रहेको सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र स्थानीय तह चुनावमा उही हैसियतमा दोहोरिने प्रारम्भिक संकेत प्रारम्भिक मतगणनामा देखिएका छन् । माओवादी केन्द्रले भने प्रतिकूल परिस्थिति र आन्तरिक/बाह्य चुनौतीबीच हुँदैन भनिएको चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक विजयका रूपमा अथ्र्याएको छ । मंगलबार साँझसम्मको सुरुवाती मतगणनाअनुसार ६ नम्बर प्रदेशका कालिकोट, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, रुकुम, सल्यानजस्ता जिल्लामा माओवादी उम्मेदवार कतै विजयी, कतै दोस्रो स्थानमा देखिएका छन् । बागलुङ, म्याग्दीजस्ता जिल्लामा माओवादी उम्मेदवारको उपस्थिति अपेक्षाकृत रामै्र रहेको विश्लेषण पार्टीका नेताहरूले गरेका छन् । यता तीन नम्बर प्रदेशका रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङमा माओवादी उम्मेदवारहरूले जित्ने क्रम देखिन्छ । उल्लेखित जिल्लाहरू माओवादी युद्धको प्रभाव तुलनात्मक रूपमा बढी परेका ठाउँहरू हुन् । ‘मत परिणाम आइसकेपछि समग्र समीक्षा गर्नु उचित होला, तर हामीलाई हालसम्मको प्रारम्भिक गणना धेरै अप्रत्याशित लागेको छैन,’ नेता नारायणकाजी श्रेष्ठले भने, ‘टुटफुटका बीच पनि जनताले अझै माया गरेको देखिन्छ, हामीलाई कमजोर बनाउन सबै लागिरहेको बुझदाबुझदै पनि हामी संविधान ल्याउन र कार्यान्वयन गर्न लाग्यौं, त्यस अर्थमा प्रतिकूलताबीच यो चुनाव गराइछाडेकामा सन्तोष लागेको छ ।’
अरू दलले ‘२० वर्षपछि स्थानीय चुनाव’ भन्ने न्यारेटिभलाई बल दिँदै गर्दा माओवादी केन्द्र पहिलोपल्ट शक्ति र अधिकारसहितको स्थानीय सरकार गठनका लागि आफूले नेतृत्व गरेको प्रचारमा थियो । त्यसका लागि नेतृत्वले ‘माओवादी केन्द्रको उपहार– गाउँ/नगरमा सिंहदरबार’ नारा अघि सार्यो । ओली सरकार हटाएर बनेको माओवादी केन्द्र–कांग्रेस गठबन्धनअनुरूप स्थानीय तहमा पनि कांग्रेसको साथ लिएर माओवादीले चुनाव लड्ने रणनीति अख्तियार गर्यो । तर पहिलो चरणको चुनावमा चार महानगरमध्ये भरतपुरमा प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा रहनुबाहेक अन्यमा ऊ कमजोर देखिन्छ । संसदको पहिलो ठूलो दल रहेको अर्को सत्ता साझेदार कांग्रेससँग माओवादीले चुनावी तालमेल गरे पनि मतको बाकसमा त्यसको प्रभाव न्यून परेको देखिन्छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल मेयर उठेको भरतपुरमा कांग्रेस समर्थकले आफ्नै चुनाव चिह्न रूखमा मत हालेका छन्, उम्मेदवार नभए पनि । माओवादी नेताहरूले तालमेलको भावना मतदानमा किन कम झल्कियो भन्नेमा समीक्षा गर्ने बताएका छन् । नेता श्रेष्ठले ‘तालमेलको फल’ बारे बोल्न अस्वीकार गरे पनि चुनाव परिचालन समितिका एक नेता तथा माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङले भने, ‘कांग्रेस र हाम्रो तालमेलको प्रभाव कम पर्नुमा स्कुलिङको भिन्नता कारक देखियो, हामी क्याडरबेस्ड छौं, नेतृत्वको निर्देशन पालना गर्छौं, उहाँहरू (कांग्रेस) मास–बेस्ड भएकाले निर्देशन खासै पछ्याउने चलन हुँदोरहेनछ । तालमेलबारे दोस्रो चरणको चुनावमा के गर्ने भन्नेमा समीक्षा गर्नुपर्ने भएको छ ।’ राजधानी काठमाडौंमा कांग्रेस र एमालेका उम्मेदवारलाई साझा पार्टी र विवेकशील उम्मेदवारले पछ्याउँदै गर्दा माओवादी ठूलो अन्तरसहित पछाडि छ । पछिल्लो दाहाल सरकारका लोडसेडिङ शून्यमा झार्नेलगायत कतिपय निर्णयबाट सहरीया मध्यम वर्गले बढी फाइदा उठाए पनि स्थानीय चुनावमा त्यसको ‘जस’ दिएनन् । यसो हुनुका पछाडि केपी ओलीसँगको सत्ता गठबन्धन त्यागेर कांग्रेसलाई अँगाल्ने माओवादी निर्णय पनि कारक रहेको कतिपयको बुझाइ छ । चुनावकै मुखमा चीनसँग ऐतिहासिक ‘वान बेल्ट वान रोड (ओबर) सम्झौता गरे पनि त्यसको जस लिन दाहाललाई ढिला भइसकेको थियो । ‘काठमाडौं, ललितपुर, पोखराको प्रारम्भिक गणना हेर्दा सहरको मध्यम वर्गले माओवादीलाई अस्वीकार गरेको देखियो, सहरमा प्रभाव दिने अनुहार माओवादीले उठाउनेमा खासै जोड गरेन पनि,’ विश्लेषक झलक सुवेदी भन्छन्, ‘माओवादी युद्धको प्रभाव भएका ठाउँहरूमा दोस्रो संविधानसभा चुनावमा कमजोर नतिजा थियो, अहिले माओवादीले त्यसलाई फर्काउन सफल भएको देखिएको छ । अघिल्लो चुनावले माओवादी सिद्धिने हो कि भन्ने आकलन जुन स्तरमा भएका थिए, ग्रामीण ठाउँहरूमा अझै पनि उसको अवस्था मजबुत नै छ भन्ने यो चुनावको प्रारम्भिक गणनाले देखाएको छ ।’पहिलो संविधानसभा चुनावबाट पहिलो ठूलो दल बनेको माओवादी केन्द्र दोस्रो संविधानसभा चुनावसम्म पुग्दा पटक पटकका फुट, अनि संक्रमणकाल व्यवस्थापनमा कमजोरीका कारण ठूलो अन्तरले तेस्रो हैसियतमा चित्त बुझाउनुपरेको थियो । मोहन वैद्य, रामबहादुर थापा, सीपी गजुरेल, नेत्रविक्रम चन्दजस्ता प्रभावशाली नेताहरूले अध्यक्ष दाहालको नेतृत्व र कार्यदिशामाथि प्रश्न उठाउँदै बाहिरिएका थिए । संविधान जारी भएलगत्तै अर्का नेता बाबुराम भट्टराईले पनि माओवादी छाडे । निरन्तर क्षीण शक्ति फर्काउने गरी अध्यक्ष दाहालले अघिल्लो वर्ष जेठ ६ मा विभाजित माओवादीलाई एकीकृत गरे । वैद्य, चन्दजस्ता स्थापित नेता त्यो प्रक्रियामा सामेल नभए पनि युद्धकालको ठूलो तप्का माओवादीको मूलधारमा फर्कियो । यो चुनावमा उल्लेख गर्नैपर्ने गरी एकीकरणको प्रभाव नदेखिए पनि आगामी चुनावमा लड्न माओवादीलाई आत्मविश्वास दिएको जानकारहरू बताउँछन् । ‘आयतनमा जे भए पनि माओवादी तीन ठूला दलमध्ये एक अझै पनि हो भन्ने सन्देश प्रारम्भिक गणनाले दियो,’ सुवेदीले भने, ‘बल गरेमा अझै पनि भविष्य छ भन्ने कार्यकर्तालाई उत्साहित नै गरेको छ । माओवादीले आफ्नो आधार गाउँमा र श्रमिक/किसान वर्गमा नै खोज्नुपर्छ भन्ने यो चुनावको सन्देश हो ।’