जेष्ठ १२, २०७४- मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन गर्ने निष्कर्ष निकालेको छ । काठमाडौंको बिजुलीबजारमा शुक्रबार बसेको राजपाको बैठकले स्थानीय तहको निर्वाचनको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको हो । सरकारले संविधान संशोधन प्रस्ताव पारित नगरेको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि भाग नलिने राजपाले बताएको छ । राजपाका नेता केशव झाले निर्वाचनविरोधी निर्णयमा गठबन्धनको समर्थन जुटाउने प्रयास भइरहेको बताए । नवगठित राजपा चुनाव चिह्न नपाएकोमा पनि रुष्ट रहँदै आएको छ । यसै गरी, राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर संयोजक रहेको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जारी विज्ञप्तिअनुसार गठबन्धनले उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै जेठ १८ र १९ दुई दिन तराई, मधेसमा हड्ताल आह्वान गरेको छ । तर, आन्दोलनका विभिन्न गतिविधि भने शनिबार देखिनै सुरु गरिने जनाएको छ ।