बैतडी,जेष्ठ १८, २०७४- स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतको हिमाञ्चलबाट जेठ पहिलो साता घर आएका सुर्नया गाउँपालिका ६ का महेश अवस्थी फर्कने तयारीमा छन् । महिना दिनको बिदामा आएका उनी जेठ ३१ को चुनाव सरेपछि फर्किन हतारिएका हुन् । दोगाडाकेदार १ का अर्जुन विष्ट बुधबार परिवारसहित भारत हिंडे । दोस्रो चरणको निर्वाचन मिति पटकपटक सर्न थालेपछि मतदाता निरास हुन थालेका छन् । भारतबाट मतदान गर्न घर आएका फर्कन थालेका छन, २० वर्षपछि चुनिन लागेका गाउँका प्रतिनिधिलाई मत दिन बिदा मिलाएर आएको थिएँ,’ विष्टले भने, ‘असारमा सरेपछि बिदा थप्न सकिँदैन, सधैं यता बसे काम पाइँदैन ।’ वैशाख ३१ मा चुनाव हुने आसले आएका जेठको मितिसमेत सरेपछि समय मिले फेरि आउने भन्दै फर्किसकेका छन् । निर्वाचन मिति सर्दै जाँदा सर्वसाधारण मतदाता निराश बनेका हुन् । भारतबाट फर्केका मात्रै होइन, गाउँमै बस्ने पनि खुसी छैनन् । केहीले बर्खामा चुनाव हुन नसक्ने अनुमान गर्न थालेका छन् । प्रचारप्रसार माहोल देखेर चुनाव हुनेमा आशावादी भए पनि मिति सर्दै जाँदा मौसमको चुनौती हुने बताउँछन् । बर्खाको समय र खेतीपातीको सिजन मध्य असारमा निर्वाचन हुन कठिन भएको कृषक बताउँछन् । ‘असारमा मकै गोड्ने र रोपाइँमा व्यस्त हुन्छौं, दिनहुँ वर्षा हुन्छ,’ पञ्चेश्वर ३ का धनबहादुर चन्दले भने, ‘खानपिनकै फुर्सद नहुने समयमा मतदान गर्न कसरी जाने ?’ भारतबाट घर आएका फर्कन थालेको सीमा बजार झुलाघाटका व्यापारी बताउँछन् । दिनहुँ डेढ/दुई सयको संख्यामा युवा र वयस्क भारत जाने गरेको सीमा प्रहरी झुलाघाटले जनाएको छ ।