काठमाडौं/भाद्र २०, २०७४-८८ केजी सुन पक्राउ गरेपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले एउटा प्रश्न बारम्बार झेले । उनलाई सञ्चारकर्मीदेखि सबैले सोधेका थिए, ‘चालक र भरिया पक्राउ पर्छन्, मालिक किन पक्राउ पर्दैनन् ?’ कान्तिपुरको यही प्रश्नमा लोहनीले भने, ‘सुन तस्करीमा ठूलो संगठित गिरोहकोसंग्लनता हुनु नै यसको एउटा कारण हो ।’
ठूलो परिमाणमा सुन बरामदका एकपछि अर्का घटना सार्वजनिक हुँदा पनि मालिक को हुन् र कसले यतिका ठूलो संगठित अपराधको धन्दा चलाइरहेको छ भन्ने पहिचान हुन सकेको छैन । गत २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार सुरक्षा पास गरेर बाहिरिएको करिब ३४ केजी सुन विमानस्थलको मूल गेटबाहिर पक्राउ परेपछि संगठित तवरबाट भइरहेको अवैध सुन तस्करीबारे संसदीय समीतिदेखि सदनसम्मै चर्को बहस चलेको थियो । तर भरिया, तस्करका तल्ला एजेन्टहरू र तिनका मतियार मात्रै पक्राउ परे । केन्द्रीय अनुसन्धान ब्युरोले उक्त मुद्दामा ३३ जना आरोपितमाथि मुद्दा दायर गरेको थियो जसमध्ये १४ जना आरोपित काठमाडौं जिल्ला अदालतबाट केही लाख धरौटीमा छुटिसकेका छन् । २०७३ माघ १ गते प्रहरीले काठमाडौंको चमतीबाट १५ केजी सुनसहितको गाडी समात्यो । तस्करीको उक्त घटनामा पनि चालक र गाडी मालिकभन्दा परसम्म प्रहरीको अनुसन्धान पुग्न सकेन । ब्युरोले १५ गते काठमाडौंको सामाखुसी र जनकपुरबाट बरामद गरेको १५ केजी सुनको पनि असली मालिक को हुन् भनेर पहिचान गर्न सकेको छैन । ब्युरोले सुन भण्डारण गर्ने , ओसारपसार गर्ने र सीमा कटाउँदै भारतीय सुन बजारसम्म पुर्याउने काममा संग्लन ७ जनालाई पक्राउ गरेको छ । घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआईजी पुष्कर कार्कीले भनेका थिए, ‘उत्तरबाट आएको सुन दक्षिणतिर जाने प्रवृत्ति छ ।’महाशाखा प्रमुख लोहनीले संगठित तस्करहरूले विभिन्न तह बनाएर सुन तस्करी गर्ने बताए । ‘मुख्य मालिकहरूले आफू बच्न अनेक उपाय गरेका हुन्छन्,’ उनले भने, ‘अनेक तह छिचोल्दै मुख्य मालिक पहिचान र प्रमाणित गर्नु आफंैमा गाह्रो काम हो । यो घटनामा पनि हामीले मुख्य अभियुक्त खोज्ने प्रयास जारी राखेका छौं ।’सोमबार ८८ किलो सुन बरामद केरुङ नाकाबाट १७ वटा सुरक्षा चेक पोस्ट छल्दै काठमाडौं भित्र्याइएको ८८ केजी अवैध सुन सोमबार बरामद भएको छ । सुन बोकेको गाडी रसुवाबाटै पछ्याएको प्रहरीले ‘मालिक’ निस्किएपछि मात्र समातेको हो ।बजार मूल्य करिब ४३ करोड २ लाख रुपैयाँ रहेको उक्त सुन महानगरीय अपराध महाशाखाको टोलीले राति २ बजे काठमाडौं क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट बरामद गरेको हो । त्यस क्रममा चालक मकवानपुरगढी गाउँपालिका ५ घर भएका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका छन् । चीनको तिब्बत हुँदै केरुङ नाकाबाट काठमाडौं आइपुग्दा कम्तीमा प्रहरीका ९, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका ४ गरी १७ चेकिङ पोस्ट पार गर्नुपर्छ । स्रोतका अनुसार १५ गते केरुङ नाका पार भएको बा१७च ६४२७ नम्बरको उक्त गाडी १८ गते ११ बजेर ४५ मिनेटमा त्यही नाका हुँदै नेपाल छिरेको थियो । त्यहीबीचमा संगठित तस्कर समूहले चालकको सिट पछाडि बडीको भाग खोलेर खाली ठाउँमा फोम राख्दै बिस्कुट आकारका एक केजी तौलका ८८ वटा सुनका बिस्कुट लुकाएका थिए ।क्षेत्रपाटीस्थित होटल ‘काठमाडौं वन’ छेउमा रोकिराखेको गाडीबाट प्रहरीले सुन समात्यो, जुन होटल दुई चिनियाँ नागरिकले सञ्चालन गर्दै आएका छन् । प्रहरीले उक्त सुन र होटल मालिकको सम्बन्धबारे केही खुलाएको छैन । अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले त्यसबारे केही भन्न सकिने आधार नजुटेको बताए । सुनका सम्भावित मालिक भनिएका एक चिनियाँ नागरिकले गाडी हाँकेर केरुङ नाका हुँदै रसुवाको सिमाना कटाएका थिए । सिमाना कटेपछि उनले आफूसँगै रहेका नेपाली चालक मनोज अधिकारीलाई गाडी हाँक्न दिए । सुन बरामद भएको गाडी महानगरीय अपराध महाशाखामा । तस्बिर : कान्तिपुर स्रोतका अनुसार महानगरीय प्रहरी आयुक्त कार्यालयको एक टोली सुन बोकेर आएको यही गाडीलाई निगरानी गर्न खटिएको थियो । नुवाकोट र रसुवाको सिमानामा चालक परिवर्तन भएकाले मोटरसाइकलमा खटिएको टोलीले मेसो पाएन । त्यसपछि भने उक्त गाडीलाई अपराध महाशाखाको टोलीले निगरानी गर्दै पछ्याएको थियो । महाशाखाका प्रमुख एसएसपी लोहनीले भने उक्त टोली परिचालनबारे अनभिज्ञता प्रकट गरे । उनले तीन दिनदेखि विशेष सुराकीले तस्करीबारे सूचना दिएको र क्षेत्रपाटीमा सुन आएको सूचना पाउनेबित्तिकै आफूहरूले गाडी पक्राउ गरेको बताए । प्रहरीले ती चिनियाँसहित गाडीलाई पक्राउ गर्न टोली खटाएको थियो । तर गाडी रोकिराखेका ठाउँमा पुग्दा चिनियाँ नागरिक उम्किसकेका थिए । ‘रसुवाबाट काठमाडौंसम्म आइपुग्दा नपक्रिनु नै मालिक उम्किन दिनु हो,’ एक प्रहरी अधिकारीले भने, ‘गाडीमा मालिक छैनन् भन्ने ढुक्क भएपछि मात्र कब्जामा लिइयो । सुन तस्करीका घटनामा सधैं यस्तै गरिन्छ ।’ प्रहरी स्रोतले सम्भावित सुन तस्करका चिनेजानेका भनिएका एक चिनियाँ नागरिकलाई निगरानीमा राखेको जनाएको छ । महाशाखा प्रवक्ता नरेन्द्र उप्रेतीले भने यसबारे पुष्टि गर्न चाहेनन् । उनले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको मात्रै बताए । प्रहरीले पक्राउ गरेका गाडी चालक मनोज सुन ओसारपसार गर्ने भरिया मात्रै भएको प्रहरीले जनाएको छ । महाशाखाका प्रमुख लोहनीले संगठित समूहले योजनाबद्ध तवरबाट सुनको अवैध तस्करी गरिरहेको बताए । उनले यति ठूलो परिमाणको सुन काठमाडौंमै बेच्ने उद्देश्यले ल्याइएको थियो कि भारत लैजान खोजिएको थियो भन्ने अनुसन्धानपछि मात्रै भन्न सकिने बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोही मार्ग हुँदै काठमाडौं भित्रिएको २१ केजीमध्ये १५ केजी सुन समातेको चार दिनपछि यो अर्को घटना भएको हो । भूकम्पपछि चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै २०७२ मंसिर १ पछि सञ्चालनमा आएको केरुङ नाका हुँदै छिरेको १ सय ५८ केजी सुन बरामद भइसकेको छ । पक्राउ परेकालाई महाशाखाले संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । दुई वा त्यसभन्दा बढी व्यक्ति अपराधमा संलग्न हुने र त्यसलाई निरन्तरता दिने घटनामा संगठित अपराध निवारण ऐन, २०६९ आकर्षित हुन्छ । सबैभन्दा ठूलो परिमाण सुन तस्करीबारे अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरू नै स्विकार्छन् । जति परिमाणमा सुन बरामद हुन्छ, त्यो तस्करी भइरहेको सुनको सानो हिस्सा मात्रै हो । गत पुसमा करिब ३४ केजी सुन तस्करीको घटनामा पक्राउ परेका अभियुक्त गोपालबहादुर शाही एक वर्षमा एक दर्जनभन्दा धेरै पटक दुबई आउजाउ गरेका थिए । प्रहरीले उनको बारम्बारको यात्रा सुन तस्करीकै निम्ति भएको अनुमानका आधारमा तस्करी कसरी भइरहेको छ भनेर आकलन गरेको थियो । प्रहरीका अनुसार पछिल्ला चार वर्षमा बरामद सुनको परिमाणलाई हेर्दा क्रमश: बढिरहेको देखिन्छ । २०६९/७० मा ८३ किलो दुई सय ५ ग्राम, २०७०/७१ मा झन्डै ९० किलो सुन बरामद भएको देखिन्छ । २०७१/७२ मा १ सय ११ किलो चार सय ४५ ग्राम सुन बरामद भएको थियो । सुन तस्करीका घटना पछिल्ला वर्षहरूमा झनै मौलाउँदै गएको देखिन्छ । प्रहरीका अनुसार सोमबार बरामद भएको अवैध सुन अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको हो । यसअघि २०७० असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कोटेश्वरबाट ३५ केजी अवैध सुन बरामद गरेको थियो । उक्त सुन सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै काठमाडौं भित्र्याइएको थियो । त्यसपछि सबैभन्दा दोस्रो ठूलो परिणामको सुन पनि ब्युरोले नै विमानस्थलको भन्सारबाट पास भएपछि गेटबाहिर बरामद गरेको थियो । उक्त सुन ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम थियो । ‘तस्करीको आकार देखेर हामी छक्कपरेका छौं,’ महाशाखाका प्रमुख लोहनीले भने । ‘अर्थतन्त्रमा ठूलो नोक्सान’ एकपछि अर्को गर्दै ठूलो परिणाममा अवैध सुन भित्रिनु अर्थतन्त्रका निम्ति घातक हो । ‘अवैध मार्गबाट सुन भित्रिँदा दुई तरिकाबाट अर्थतन्त्रलाई नोक्सान पुग्छ । पहिलो नेपालभित्र रहेको विदेशी मुद्रालाई अवैध बाटोबाट सुन किन्ने मुलुकमा पुर्याइन्छ जसले विदेशी मुद्राको अभाव देखिन्छ । यस्तो अभ्यासबाट हुन्डी वा अवैध मार्गबाट विदेशी मुद्रा विदेश पठाउने अवैध अभ्याससमेत बढ्छ,’ राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘दोस्रो घाटा भने राजस्वमा पुग्छ । वैधबाटोबाट सुन भित्र्याउँदा राज्यले तोकेको राजस्व तिर्नुपर्ने हुन्छ । तर अवैध मार्गबाट सुन तस्करी हुन थालेपछि राजस्वको स्रोत पनि सुक्छ ।’