काठमाडौं/भाद्र २०, २०७४-राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को स्थानीय तह चुनाव सम्पन्न भएलगत्तै पुन: संविधान संशोधनको मुद्दा उठाएर आन्दोलन गर्ने घोषणा गरेको छ । चुनावलाई लक्षित गरी सोमबार जारी गरेको घोषणापत्रमा राजपाले सरकारले अघि बढाएको संविधान संशोधन एकपटक अस्वीकृत भए पनि पुन: अघि बढाउने र पारित गर्नका लागि संघर्षका कार्यक्रम ल्याउने उद्घोष गरेको हो । ‘स्थानीय तहको चुनावपश्चात् तत्कालै फेरि संविधान संशोधन गर्न दबाब दिन हाम्रा संघर्षका कार्यक्रम निरन्तर रूपमा चलिरहनेछ,’ राजपाको घोषणापत्रमा छ, ‘स्थानीय तहको चुनावको दौरान पनि हाम्रो सांकेतिक विरोध जारी नै रहनेछ ।’ संविधान संशोधनमा राजपाले राख्दै आएको अडानकै कारण प्रदेश २ को चुनाव सर्दै असोज २ मा पुगेको हो । सरकारले अघि बढाएको संविधान संशोधन विधेयक संसद्बाट असफल भएपछि राजपाले प्रमुख प्रतिपक्षी एमाले र राप्रपालाई मधेसविरोधी पार्टीका रूपमा चित्रण गरेको छ । ‘एमाले र राप्रपा मधेसी, आदिवासी, जनजाति, थारू, मुस्लिमलगायत सम्पूर्ण उत्पीडित र उपेक्षितहरूको विरोधी भएको वैधानिक रूपमै प्रमाणित भएको छ,’ राजपाले भनेको छ, ‘राष्ट्रिय एकता नचाहने र मुलुकमा द्वन्द्व सिर्जना गरी राजनीति गरिरहने अभीष्ट देखियो ।’राजपाले कांग्रेसलाई भने मधेसमैत्री नभएको पार्टीका रूपमा चित्रण गरेको छ । ‘कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशीका लागि प्रतिबद्ध छैन,’ उसले भनेको छ, ‘कांग्रेस मधेसमैत्री समेत होइन ।’राजपाले घोषणापत्रमा सबभन्दा बढी आलोचना एमाले र माओवादी केन्द्रप्रति गरेको छ । एमालेलाई संघीयता र समावेशीकरणको विरोधमा रहेको, ढुलमुले चरित्र बोकेको र मधेसप्रति अनुदार दल रहेको उल्लेख गर्दै राजपाले भनेको छ, ‘यसको नेतृत्व संरचनामा नै शासक वर्गको वर्चस्व भेटिन्छ । जो प्रखर मधेसी विरोधी छ ।’माओवादी केन्द्रलाई राजपाले लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टीको संज्ञा दिएको छ । शक्तिको बलमा सत्ताकब्जा गर्ने नीतिबाट माओवादी सञ्चालित रहेको राजपाको दाबी छ । ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादीको मूल चरित्र नै संघीयताविरोधी हो,’ राजपाले घोषणापत्रमा भनेको छ, ‘मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकता माओवादी केन्द्रकै कारण हावी भएको हो ।’ राजपाले मधेस आन्दोलनका क्रममा सहिद रमेश महतो र ५२ जना मधेसीको हत्याका लागि समेत माओवादीलाई मुख्य जिम्मेवार ठहर गरेको छ । मधेस केन्द्रित अन्य दलप्रति भने राजपा नरम देखिएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम पार्टी व्यक्तिगत स्वार्थबाट सञ्चालित भएको भन्दै उसका कारण नै मधेसी मुद्दा ओझेलमा परेको राजपाले उल्लेख गरेको छ । राजपाले मधेसमा बर्सेनि हुने बाढीको स्थायी समाधानका लागि बाढी डुबानपीडित पुनर्निर्माण प्राधिकरण गठन हुनुपर्ने र चुरे–तराई मधेस संरक्षणमा विशेष पहल गर्नुपर्ने मागलाई समेत चुनावी मुद्दा बनाएको छ । हरेक वर्ष बाढीबाट हुने क्षतिलाई दीर्घकालीन रूपमा समाधान गर्न तीव्र गतिमा चुरे क्षेत्रमा वृक्षरोपण गर्ने, वन कटानीलाई रोक्ने, चुरे वनदेखि सीमासम्म खोलाहरूमा दुवैतर्फ तटबन्ध गर्ने, प्रत्येक दुई वर्षमा सबै खोला खन्ने, बाढीबाट भएको क्षति यकिन गरी तत्काल बाढीपीडित पुनर्निर्माण प्राधिकरण गठन गरी मधेसमा आधुनिक भवन निर्माण गर्ने मुद्दा उठाएको छ । राजपाले मधेसभित्र अल्पसंख्यक समुदायको उत्थानका लागि विशेष कार्यक्रम ल्याउनुपनेर्, सेनालगायत सुरक्षा निकाय र कर्मचारी तन्त्रमा समावेशीको मुद्दा पनि उठाएको छ । प्रादेशिक सरकार बनेपछि गर्नुपर्ने लोकल्याणकारी काम, पूर्वाधार विकास, वैदेशिक रोजगार नीति, श्रमिक नीति, पर्यटन नीतिलगायत शिक्षा, स्वास्थ्य, प्रेस स्वतन्त्रताको विषयलाई पनि प्राथमिकतामा राखेको छ ।