२२ कात्तिक, चितवन । आगामी कात्तिक २५ गते शनिबार नारायणगढ-मुग्लिन सडक दिउँसो ७ घण्टा बन्द हुने भएको छ ।
सडकखण्डको सेतीदोभान (२० प्लस ४००) मा ठूलो ढुंगा सडकमा र्झन सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न भन्दै सो दिन दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले कात्तिक २५ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो । सेती दोभान क्षेत्रमा रहेको ठूलो ढुंगा झर्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले दुवै तर्फ सवारी रोकी ढुंगा झारेर सुरक्षित व्यवस्थापन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । सडक खण्डमा अझै पनि खाल्डाखुल्डी रहेकाले त्यसलाई पुरेर सम्याउन सम्बन्धिन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । त्यसैगरी, बैठकले तीनवटै सेक्टरका निर्माण व्यवसायीहरुले आवश्यकता अनुसार मानिस र मेसीन प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिन निर्देश गरेको छ । नारायणगढ-मुग्लिन सडक खण्डमा अहिले धमाधम पीच निर्माणका कामहरु भइरहेका छन् । सडकखण्डको कटिङ गर्न बाँकी ८ सय मिटरमा काम थाल्ने आयोजनाले बताएको छ । परीक्षणका लागि एक देखि डेढ घण्टा कटिङको काम गर्न लागिएको हो । सडक खण्डको १६, २२ र ३३ किलोमा ट्राफिक आवागमनलाई व्यवस्थित गर्दै कटिङ गर्न लागिएको आयोजनाले जनाएको छ । विहान ७ बजेदेखि ८ः३० बजेसम्म र ११ देखि अपरान्ह दिउँसो ४ बजेसम्म कटिङ गरिने छ ।