काठमाडौं, २२ बैशाख, सरकारले स्थानीय तह सञ्चालनका लागि १४ अर्ब ७२ करोड रुपैयाँ तत्काल निकासा गर्ने भएको छ । निर्वाचन सम्पन्न हुनासाथ ७ सय ४४ वटै स्थानीय तहमा काम सुरु गर्न भन्दै तत्काल एकमुष्ट बजेट दिने भएको हो । वैशाख ३१ र जेठ ३१ मा हुने चुनावपछि जनप्रतिनिधिले काम थाल्ने र स्थानीय तह सक्रिय हुने भएकाले सञ्चालन खर्चका लागि १४ अर्ब ७२ करोड रुपैयाँ बजेट निकासा हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । जनप्रतिनिधि र कर्मचारीको तलब र अन्य भौतिक पूर्वाधारका लागि सरकारले तत्काल बजेट निकासा गर्न लागेको हो । सरकारले यसअघि नै स्थानीय तहको प्रारम्भिक पूवार्धार तयार गर्न भन्दै ७ सय ४४ वटै तहमा १ करोड रुपैयाँका दरले ७ अर्ब ४४ करोड निकासा गरेको थियो । हाल स्थानीय तहमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका छन् । प्रारम्भिक अनुमानअनुसार सबैभन्दा सानो गाउँपालिकामा न्युनतम २१ जना कर्मचारी आवश्यक पर्नेछ । प्रविधिदेखि प्रशासन र कार्यालय प्रमुखसम्म सञ्चालन खर्च आवश्यक पर्ने र बजेट आउनुअगावै निर्वाचन हुने भएकोले पनि २ महिनाका लागि रकम आवश्यक भएको मन्त्रालयका अधिकारीको भनाइ छ। ‘निर्वाचित जनप्रतिनिधिलगायत मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, अध्यक्ष र वडाध्यक्षले पूर्णकालीन काम गर्नुपर्ने भएकोले उनीहरूलाई पनि मासिक निश्चित पारिश्रमिक आवश्यक पर्छ ।