२६ वैशाख, चितवन । चट्याङ लागेर चितवनमा एक स्थानीय तह उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं. ११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो । कालिका नगरपालिका – ११ खोलागाउँस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर घाइते प्रजालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ । उनी कालिका नगरपालिकाको वडा नं. ११ को वडा सदस्य उम्मेदवार थिए । कालिका नगरपालिकाको ११ नम्बर वडा निकै विकट रहेकाले चट्याङले पुर्याएको क्षतिबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रजाको मृत्यु भएकाले माओवादी केन्द्रले अर्को उम्मेदवार उठाउन सक्ने जानकारी दिए ।