२८ बैशाख, लहान । सिराहाको लहानस्थित यातायात व्यवस्था कार्यालयभित्र बम बिष्फोट भएको छ । बिहीबार बिहान कार्यालयको एक तलामाथि रहेको शौचालयभित्र बम विष्फोट भएको हो । विष्फोटबाट मानवीय क्षति भने भएको छैन । तर, कार्यालयको झ्यालको शिशा, शौचालयको भित्ता र ढोकामा क्षति पुगेको छ । लहानका डिएसपी हिरा पाण्डेले अनलाइनखबरसँग भने, ‘कार्यालय प्रमुख लगायतका सरहरु कार्यकक्षभित्रै हुनुहुन्थ्यो तर सेवाग्राहीहरु थिएनन् । पब्लिक ट्वाइलेटभित्र विष्फोट भएकाले पनि हुनसक्छ मानविय क्षति भएको छैन ।’ उनले बम कसले र किन राख्यो भन्ने नखुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । डिएसपी पाण्डेले कस्तो प्रकारको बम हो भन्ने पनि नखुलेको बताए । सेवाग्राहीको चाप हुने यातायात कार्यालयभित्रै बम बिष्फोट भएपछि कर्मचारी र सेवाग्राही आतंकित भएका छन् ।