२८ वैशाख, झापा । झापामा प्रहरीले पाँच किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । धादिङ, गजुरी गाउँपालिका-४, किरान चौर घर भई हाल काठमाडौंको बालाजुमा डेरी सञ्चालन गरी बस्दै आएका ३८ वर्षीय सिंहबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । बिर्तामोड-१ स्थित पश्चिम बस स्टेण्डबाट विहीबार दिउँसो उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशव थेबेले जानकारी दिए । उनलाई लागुऔषध नियन्त्रण व्युरो, काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।