२८ भदौ, काठमाडौं । दशैंका लागि आजबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् ।राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेलले यो वर्ष ३० देखि ४० अर्ब रुपैयाँ नयाँ नोट साटिने सम्भावना रहेको बताए ।यस पटक सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइने छ ।नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।यता, कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षेत्रीय कार्यालय र मुद्रा सञ्चिति रहेका वाणिज्य बैंकबाट पनि नयाँ नोट वितरण हुनेछ ।बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् । निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । यसका लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएको हो । सरकारी निकाय लगायतकाले भदौं २१ गतेदेखि नोट साट्न सक्ने व्यवस्था गरेका थिए ।