बालबालिकाहरु हरेक मौसममा विभिन्न रोगको जोखिममा परिरहेका हुन्छन् । हात नधोइ खाने, धुलोमा खेल्ने र जे भेटायो त्यही मुखमा हाल्ने गर्नाले बालबालिकामा रोगको जोखिम बढी हुन्छ । अर्को कुरा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने भएकाले उनीहरुको स्याहारसुसारमा बढी ध्यान पुर्याउनुपर्छ । गर्मी महिनामा बच्चामा देखिने प्रमुख समस्यामा पातलो दिसा हुने, उल्टी हुने, छालाको समस्या र रुघाखोकी आदि पर्छन् । यस्ता समस्या गर्मीमा मात्र नभई जाडो समयमा देखिए तापनि गर्मी मौसममा बढी नै देखिने गर्छ ।
गर्मी मौसममा बच्चाहरुमा मौसम परिवर्तनसँगै डायरिया हुनसक्छ । वर्षायाममा बढी मात्रामा पानी दूषित हुने हुँदा यस्तो समस्या बढी देखिन्छ । यसबाहेक बच्चाहरु गर्मी मौसममा बिदामा परिवारका साथ घुम्न जाने हुँदा बाहिरको खाना, चिसो पेय पदार्थ, आइसक्रिम, फ्रिजमा राखेको बासी खानेकुराका कारण पनि बढी बिरामी परेको पाइन्छ । नेपालमा लगातार विद्युत नहुने हुँदा फ्रिजले राम्ररी काम नगर्न सक्छ । खाना चिसो र फेरि तातो हुँदा शुष्म जीवाणु सक्रिय हुन सक्छन् । विशेषगरी मासु र दूधजन्य परिकारमा यस्तो समस्या हुनसक्छ । जसका कारण बच्चाहरुमा डायरिया र उल्टी हुने समस्या बढी देखिन्छ ।
बच्चालाई कुनै पनि समस्या देखिएमा परिवारले विशेष ध्यान पु¥याउनुपर्छ । बच्चाले दिनमा १० देखि १२ पटकभन्दा बढी पातलो दिसा गरेको छ भने बच्चालाई जलवियोजन हुनसक्छ । यस अवस्थामा आवश्यक स्वास्थ्यकर्मीको सहयोग लिनुपर्ने हुन्छ । शरीरमा पानीको मात्रा कम भएमा बच्चा चिढिने, बढी मात्रामा पानी पिउन चाहने, आँखाभित्र गढेको छ वा बच्चा सुस्त र वेहोस छ भने जलवियोजन छ भन्ने थाहा पाउनुपर्छ । जलवियोजन लामो समयसम्म रह्यो वा कडा जलवियोजन भयो भने बच्चाको मृत्युसमेत हुनसक्ने हुनाले परिवारले बिशेष ध्यान पुर्याउनुपर्छ । यस्तो अवस्थामा जीवनजल र झोल पदार्थ बढी मात्रामा खान दिनु दिनुपर्छ ।
गर्मी मौसममा धुँवा र धूलोका कारण वातावरण प्रदूषित भई स्वासप्रस्वाससम्बन्धी समस्या बढ्न सक्छ । प्रायः चैत वैसाख महिनामा बच्चाहरुमा छाती घ्यारघ्यार हुने र घाँटी दुख्ने समस्या बढी पाइन्छ ।
बच्चाहरुमा स्वासप्रस्वाससम्बन्धी समस्या जाडोमा मात्र नभई गर्मीयाममा पनि धेरै देखापरेको छ । स्वासप्रश्वाससम्बन्धी समस्यामा साधारण रुघाखोकी, छाती घ्यारघ्यार हुने र न्यूमोनिया हुनसक्छ । छिटोछिटो सास फेर्ने, कोखा हान्ने, ज्वरो आउने गरेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ । सामान्य रुघाखोकी लागेमा ३ देखि ५ दिनसम्म पर्खन सकिन्छ तर लगातार ५ दिनभन्दा बढी रुघाखोकी लागेमा वा ज्वरोमा आएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।त्यसैगरी बालबालिकालाई गर्मी मौसममा मूत्रनलीको संक्रमण पनि बढी देखिने गर्छ । यो समस्या केटामा भन्दा केटीमा बढी देखिन्छ । अर्को कुरा डाइपर प्रयोग गर्ने बच्चाहरुमा बढी मूत्रनलीको संक्रमण समस्या बढी देखिन्छ । बच्चाहरुमा मूत्रनलीको संक्रमण पत्ता लगाउन गाह्रो हुने हँुदा समयै होसियारी अपनाउनु बुद्धिमानी हुन्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने र झाडापखाला हुने गर्छ ।
गर्मी मौसममा देखिने अर्को समस्या छालासम्बन्धी समस्या हो जसमा छाला चिलाउने, घमौरा आउने र खटिरा आउने समस्या हुन्छ । यस्तो मौसममा सकेसम्म शरीरलाई सफा र सुख्खा राख्नुपर्छ । छाला धेरै लामो समय भिजिराखेमा फङ्गल इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा शरीर सफा राख्ने तथा सफा र पातलो सुती कपडा प्रयोग गर्ने गर्नुपर्छ । आँखा पाक्ने समस्या गर्मी मौसममा भन्दा पनि चैत बैसाखमा बढी देखिन्छ । यसलाई कन्जन्टिभाइटीस् भनिन्छ । यो समयमा बढी हावा चल्ने हुँदा भाइरल इन्फेक्सनका कारण यो रोग एउटाबाट अर्कोमा सजिलै सर्छ । आँखा सफा पानीले सफा राख्ने र जरुरी भएमा चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । बच्चाहरुमा गर्मी मौसममा पौडी खेल्दा पानीमा डुब्ने, घाउ, चोटपटक, लाग्ने, हातखुटा मर्कने, भाँचिने, जुका पर्ने, जनावरले टोक्ने संभावना पनि बढी हुनाले यसतर्फ पनि परिवारका सदस्यले विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।