२६ बैशाख, चितवन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला हो चितवन । एमालेका पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डे र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे पनि यही जिल्लाका नेता हुन् । ठूला नेताहरुको प्रतिष्ठासँग गाँसिएकाले चितवनको चुनावमा धेरैको ध्यान केन्दि्रत भएको छ । विशेषतः महानगरपालिकामा प्रधानमन्त्रीपुत्री रेणु दाहालको उम्मेदवारीले यस जिल्लालाई थप चर्चामा ल्याएको छ । छोरीको जित सुनिश्चित गर्ने उद्देश्यले प्रचण्डले नेपाली कांग्रेससँग चुनावी समीकरण गरेका छन् ।भरतपुर महानगर क्षेत्र कांग्रेसको प्रभाव क्षेत्र पनि हो । तर, रेणुलाई कांग्रेसले समर्थन गर्ने निर्णय केन्द्रमा भएता पनि महानगरका केही कांग्रेस कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ ।प्रचण्डको योजना छोरीलाई मेयर पदमा विजयी गराई भविश्यमा यही क्षेत्रबाट आफूले संसदीय चुनाव लड्ने रहेको जानकारहरु बताउँछन् । चितवनबाट अघिल्लो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला विजयी बनेका थिए । प्रचण्ड चितवन आउँदै, देउवालाई पनि निम्तो एकसरो घरदैलो सकाएका उम्मेदवार र दलहरु अब चुनावी सभाहरु गर्ने तयारीमा छन् । भरतपुर महानगरपालिकामा छोरी उम्मेदवार भएकाले उनको पक्षमा चुनावी माहोल सिर्जना गर्न प्रचण्ड आफै चितवन आउने भएका छन् । बैशाख २७ गते भरतपुरमा माओवादी केन्द्र र कांग्रेसले संयुक्त सभा आयोजना गर्ने तयारी गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आमसभामा ल्याउन प्रयास गरिएको माओवादी चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । ‘पार्टी अध्यक्ष प्रचण्ड आउने निश्चित भएको छ, हामीले कांग्रेसमार्फत देउवालाई पनि ल्याउने भनेका छौं,’ इञ्चार्ज भट्टराईले भने, ‘वेटिङ्ग प्राइममिनिस्टर भएका कारणले गर्दा पनि उहाँ आउँदा राम्रो सन्देश जान्छ ।’केपी ओली पनि चितवन झर्ने कांग्रेस र माओवादी गठवन्धनसँग एक्लै भिड्न लागेको एमालेले पनि चुनावी सभा गर्ने योजना बनाएको छ । प्रचण्ड र देउवालाई काउन्टर गर्न एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई चितवन ल्याउने तयारी गरेको एमाले चितवनकी सचिव पार्वती रावलले जानकारी दिइन् ।
‘सम्भवत बैशाख २८ गते पार्टी अध्यक्षलाई नै ल्याउने कुरा छ, हेरौं के हुन्छ,’ रावलले भनिन् । त्यसैगरी एमाले सचिव गोर्कण बिष्ट २७ गते एमाले मेयर पदका उम्मेदवार देवी ज्ञवालीको पहिटहानी, जगतपुर, मंगलपुरमा हुने साना चुनावी सभालाई सम्वोधन गर्न चितवन आउने भएका छन् । चितवनको चुनावी दौड महानगरपालिकासमेत भएको तराईको एक मात्र जिल्ला चितवनका ७ वटा स्थानीय तहमा २ हजार ३ सयजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा ५ सय ४ पदका लागि उनीहरु भिड्दैछन् ।कुल ३ लाख १३ हजार २ सय मतदाता रहेको चितवनमा भरतपुर महानगरपालिकासहित ५ नगरपालिका राप्ती, माडी, खैरहनी रत्ननगर र कालिका तथा एक गाउँपालिका इच्छाकामना छन् । स्थानीय तहका प्रमुख पदमा ६९ जना उपप्रमुखमा ५५ जनाको उम्मेदवारी दर्ता भएको छ । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरी मेयर र उपमेयर उठाएका छन् भने अन्य नगर र गाउँपालिकाहरुमा कांग्रेस, एमाले, माओवादी र राप्रपा वीचमा नै प्रतिस्पर्धा हुने छ ।भरतपुर महानगरको वडामा भने कांग्रेस र माओवादीका आ-आफ्नै उम्मेदवार छन्, यद्यपि उनीहरुले वडामा समन्वय गर्ने भन्दै आएका छन् । पहिलो पटक महानगरपालिका बनेको भरतपुरमा १४७ पदका लागि ६ सय ८४ जना भिड्दैछन् । मेयर पदमा १४ जना र उपमेयर पदमा ११ जनाले उम्मेदवारी दिएका छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् भने एक लाख ५० हजार २ सय ७४ मतदाता रहेका छन् । जिल्लाका कूल मतदातामध्ये करिब आधा मतदाता भरतपुर महानगरपालिकामा छन् ।