बाँके, २९ बैशाख । नेपाल–भारत सीमा क्षेत्रमा बिहिबार संयुक्त गस्ती भएको छ । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल एसएसबीले संयुक्त गस्ती गरेका हुन् । बिहीबार सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखका लागि पिल्लर नम्बर २६ देखि ३० सम्मको सीमावर्ती क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र एसएसबीले संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी बल कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्र नगर सुरक्षा पोष्ट कालाबञ्जर र भारतको सीमा सुरक्षा बलको कम्पनी हेडक्वार्टर मुन्सीपुर्वाका १३÷१३ जना सुरक्षाकर्मीको टोलीले बिहीबार संयुक्त गस्ती गरेको हो । संयुक्त गस्ती टोलीमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक कुँवर र भारतीय एसएसबीको नेतृत्व निरीक्षक तेजवन्त सिंहले गर्नुभएको थियो । सीमा ईलाकाको रेखदेख तथा सीमा अपराध नियन्त्रणका लागि नियमित संयुक्त गस्ती गरिँदै आइएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले बताउनुभयो । सीमा क्षेत्रमा संयुक्त गस्तीहरु यसअघि पनि पटक–पटक हुँदै आएकोमा यसपटक नेपालमा स्थानीय तहको चुनावलाई लक्षित गरी गरिएको हो । नेपालमा हुन लागेको पहिलो चरणको स्थानीय चुनावलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउनका लागि सीमामा बिशेष निगरानी गर्नुका साथै संयुक्त गस्ती गर्न थालिएको सुरक्षा निकायले जनाएको छ ।