२ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएका हुन् । निमबहादुरले ३ हजार ६ सय ९४ मत ल्याउँदै जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ प्राप्त गरेका छन् । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी टीका शर्मा ३ हजार ६ सय ९५ मतसहित विजयी भइन् । उनका प्रत्यासी नेकपा एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । दार्मा गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको थियो । ६ वटा वडा रहेको दार्मा गाउँपालिकामा माओवादी केन्द्रले पाँच र एमालेले एउटा वडामा विजय प्राप्त गरेको छ । दार्मा गाउँपालिका वडा नम्बर १ मा एमालेका कविकुमार चन्दले जितेका हुन् । माओवादी केन्द्रबाट वडा नम्बर २ मा डिल्ली केसी, वडा नम्बर ३ मा सेतीराम रोकाय, ४ मा चन्द्रबहादुर रावत, ५ मा रामबहादुर केसी र ६ मा दुर्गा मल्ल विजयी भएका छन् । यी वडामा वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा उत्रिएको थियो भने एमाले र कांग्रेसले तालमेल गरेका थिए ।