काठमाडौँ — साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ । यो वर्षको साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । बिहानै पशुपतिनाथको दर्शन गर्न पूर्व युवराज्ञी हिमानी शाह आफ्नो छोरा र छोरीसहित पुगेकी थिइन् । यस्तै प्रधानमन्त्री केपी ओलीका पिता पनि पशुपति गएका थिए । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन् ।