४ जेष्ठ । भरतपुर । भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिइरहँदा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भरतपुरमा काँग्रेस र माओवादी गठबन्धनले जित्ने दाबी गरेका छन् । मतगणनास्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति श्रेष्ठले तालमेल अनुसार प्रचण्ड पुत्री रेणु दाहाललाई मेयरमा मत नआए पनि धेरै भोट गठबन्धनलाई नै गएको बताए । चितवनमा काँग्रेसको राम्रो संगठन भए पनि माओवादीको संगठन बलियो नभएका कारण समस्या भएको उनले बताए । वडामा तालमेल नभएका कारण समस्या भएको उनको तर्क छ । बाँकी रहेका वडामा रेणुले नेतृत्व लिने उनको दाबी छ । बिहीबार मध्यान्हसम्मको मतगणना अनुसार, रेणु दाहाल झण्डै १८ सय मतले पछाडि छिन् । एमालेका ज्ञवालीले ६७३५ मत पाउँदा रेणुले ४९८७ मत ल्याएकी छिन् । चितवनमा मेयर र उपमेयरमा एमालेले अग्रता लिइरहेको छ । तर, वडामा भने प्रतिस्पर्धा देखिएको छ । काँग्रेसले १ र ३ नम्बर वडा जितेको छ भने एमालेले २ र ४ नम्बर वडा जितेको छ।