भरतपुर/श्रावण १३, २०७४- सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको सूचनाको आधारमा चितवन प्रहरीले शुक्रबार जिल्लाको लोथरबाट नगदसहित शिक्षा अधिकारी सुवेदीलाई पक्राउ गरेको हो ।सर्लाहीबाट भारतीय नम्बर प्लेटको बोलेरो जिपमा चितवनस्थित घर आउँदै गरेका शिक्षा अधिकारी सुवेदीलाई अख्तियारको बर्दिवास कार्यालयले अवैध रकम लिएर जाँदै गरेको सूचना दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । ‘अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाका प्रहरी निरीक्षक बिनिमाधव पौडेलसहितको टोलीले पक्राउ गरेको हो,‘एसपी थापाले भने शिक्षा अधिकारी सुवेदीको साथबाट ६ लाख ९५ हजार नगद फेला परेको छ ।’सुवेदीले आफ्नो तलब भत्ताको रकम भएको दाबी गरेका छन् । चितवन प्रहरीले उनलाई अपरान्ह अख्तियारको बर्दिवास कार्यालय पठाएको छ । एक वर्षदेखि सुवेदी सर्लाहीको शिक्षा अधिकारीको रुपमा कार्यरत छन् । एसपी थापालाई अख्तियारले खबर गरेपछि सुवेदीको गाडीलाई लोथरमा रोकेर सर्च गरेको थियो । उनको साथबाट रकम बरामद भएको हो ।