सर्लाही/ भाद्र २०, २०७४-यहाँका अधिकांश गाउँमा मतदाता शिक्षा कार्यक्रम पुग्न सकेको छैन । निर्वाचन कार्यालयले बाल शिक्षा पढाउने शिक्षिका, महिला स्वयंसेविका र सामाजिक परिचालक गरी ५ सय १ जनालाई खटाएको दाबी गरे पनि अधिकांश गाउँमा मतदाता शिक्षा नपुगेको हो । नागरिक अगुवा उग्रकान्त झाले बिनातयारी चुनाव नजिकिएको बताए । ‘निर्वाचन आयोगले गर्नुपर्ने काम नै गरेको छैन,’ उनले भने, ‘मतदाता शिक्षाबारे प्रचार भएको देखिएन । चुनाव भनेको काम सक्नु मात्र होइन । धेरै मत बदर भयो भने राम्रो हुँदैन । अहिलेको प्राथमिकता मतदाता शिक्षा नै हो ।’अघिल्ला दुई चरणको स्थानीय तह चुनावमा पनि पढेलेखेका सहरी मतदाता भएको स्थानमै बदर मत संख्या उच्च थियो । साक्षरता प्रतिशत कम भएका जिल्लामा अझै पनि मतदाता शिक्षा नपुगेकाले झन् धेरै मत बदर हुने सम्भावना छ । वर्षाका कारण जिल्लाका अधिकांश भूभागमा सडक भत्केकाले आवतजावतमा कठिनाइ छ । बाढीपीडित राहत र पुन:स्थापनाको प्रतीक्षामा बसेका छन् । यस्तो बेला मतदाता शिक्षा र चुनावसम्बन्धी गतिविधिप्रति कसैको रुचि देखिएको छैन । कांग्रेस उपसभापति सुरेन्द्रप्रसाद सिंहले निर्वाचनको वातावरण नबनेको बताए । उनले दैवीप्रकोपका घटना र यस्तो बेला हुन लागेको निर्वाचनका बीचमा तालमेल नमिलेको उल्लेख गरे । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो भइरहेको छ,’ उनले भने, ‘न राजनीतिक दल प्रचारका लागि गाउँ जान सकेका छन्, न त निर्वाचन कार्यालयका गतिविधि नै गाउँकेन्द्रित भएका छन् । मतदाता बाढीको पीडाबाट अझै बाहिर निस्कन सकेका छैनन् ।’ उनले राहत, घर भत्केकालाई पुन:स्थापना, क्षतिग्रस्त बाटो निर्माण र मतदाता शिक्षाका लागि सबै शक्ति केन्द्रित नगरे चुनाव सार्थक नहुने बताए । वर्षापछि हरेक घरमा बिरामी बढेका छन् । कतिपयको घर भत्केको छ । बस्ने र खाने टुंगो नै नभएका मतदाता धेरै छन् । छिटफुट वर्षा भइरहेको छ । जिल्लामा यस्तो अवस्था रहेकाले चुनावी माहोल तयार नभएको नेपाल बार एसोसिएसनका अध्यक्ष दिलीप झा बताउँछन् । उनले अहिलेसम्म मतदाता शिक्षाबारे आफूसमेत अनभिज्ञ रहेको उल्लेख गरे । ‘अहिले टिकट किन्ने र टिकट बेच्नेलाई मात्र चुनाव लागेको छ,’ उनले भने, ‘तेस्रो चरणको चुनावका लागि यत्रो अवधि रहँदा पनि निर्वाचन आयोगले केही काम नगरेकाले कसरी मत खसाल्ने भन्नेसम्म धेरैलाई थाहा छैन ।’ उनले अहिलेको निर्वाचन जबर्जस्ती गर्न खोजिए जस्तो देखिएको बताए । निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले मतदाता शिक्षाका लागि टोली खटिएर काम सुरु गरेको जनाए । हरेक घरमा पुगेर मतदाता शिक्षा दिएको भनेर घरधनीको हस्ताक्षर गराउनुपर्ने प्रावधान रहेको उनले बताए ।